धनगढी। सुदूरपश्चिम कांग्रेस प्रदेश कार्यसमिति चयनका लागि मतदान जारी रहेको छ। शनिबार धनगढीस्थित निर्माण व्यवसायी संघ कैलालीको हलमा विहान १० बजे देखि सुरु भएको मतदान अहिले पनि जारी रहेको छ। बिहान ९ बजेबाट ३ बजे सम्म मतदान गर्ने समय तोकिएपनी ब्यवस्थापनका कारण १० बजे देखी ४ बजेसम्मको समय सिमा तोकेको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए।
प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतरपक्ष प्यानलसहित चुनावी मैदानमा छन्। दिउँसो चार बजेसम्म ९८९ जनाले मतदान गरिसकेको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए।उनले ९० प्रतिशत मत खसेको जानकारी दिए । प्रदेशमा एक हजार १७ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाएका छन्। सभापतिमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतरपक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।
यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्। यसैगरी संस्थापनइतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवारी दिएका छन्। मतदानस्थल निर्माण व्यवसायी स्थल अगाडिको सडक मतदाताहरूले खचाखच भरिएको छ। उम्मेदवारहरू आफ्नो पक्षमा मत पार्न मतदाताहरू रिझाउने काम गरिरहेका छन्।


