धनगढी। नेपाली कांग्रेस सुदूरपश्चिमको पहिलो प्रदेश अधिवेशनमा ५६ पदका लागि १ सय ७९ जनाको उम्मेदवारी परेको छ। धनगढीमा जारी प्रदेश अधिवेशनमा निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ।
प्रदेश निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ८ पदाधिकारीमा १९ जनाको उम्मेदवारी परेको छ। यस्तै ४८ प्रदेश सदस्यका लागि १६० जनाले उम्मेदवारी दिएका छन्। ५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीन जना भने निर्विरोध चयन भएकाले अब ५६ पदका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ।
कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन्। मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए। प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छ। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ। यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्।
यस्तै संस्थापन इतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन्। यस्तै काँग्रेस सुदूरपश्चिमको उपसभापतिमा हिम रावलको पनि उम्मेदवारी छ। तर उनले उम्मेदवारी फिर्ता लिएको र आफ्नो समर्थन वलायर समूहलाई रहेको भन्दै विज्ञप्ती जारी गरेका छन्। यस्तै सहमहामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वार र डम्मरी महराको पनि उम्मेदवारी परेको छ। सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो। तर भागभण्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्षले पनि उम्मेदवारी दर्ता गरेको हो। काँग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार एक हजार १७ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाउने छन्। मतदान आज भैरहेको छ ।


