धनगढी। सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने भोलि शनिबार मतदान हुनेछ।
यता नेपाली काँग्रेस सुदूरपश्चिमको प्रदेशमा पनी अधिवेशन हिजोदेखि धनगढीमा सुरू भएकोमा आज उम्मेदवारको मनोनयन दर्ता कार्य हुदैछ। बिहीबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको उद्धघाटन गरेका हुन्।
काँग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजन नृप सुनारले हिजो अधिवेशनको उद्धघाटन भएको,आज मनोनयन दर्ता र भोलि मतदान हुने जानकारी दिए। आज बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता, ११ बजेदेखि १ बजेसम्म दाबीविरोध र साढे ६ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको उनले बताए। यस्तै भोलि शनिबार बिहान ८ वजेदेखि भने ५९ सदस्यीय प्रदेश कार्यसमिति चयनका लागि मतदान सुरु हुने जनाइएको छ।
सुदुरपश्चिममा सभापतिमा दाबेदारीका लागी कैलाली जिल्ला सभापति नरनारायण शाह, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा डोटीबाट विजयी महाधिवेशन प्रतिनिधि पुष्प शाही, पूर्व परराष्ट्र राज्यमन्त्री तथा बझाङका काँग्रेस नेता अर्जुनजंगबहादुर सिँह, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका काँग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले सभापतिको रुपमा दाबेदारी पेश गरेका छन्। देशभर १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउनेछन्। मुलुक संघीयता गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो ।


