काठमाडौं। नेकपा एमालेको महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको थियो।
१२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्द सत्र प्रभावित भएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आज सम्म लाग्न पुगेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको बताए ।
महाधिवेशनमा २१ सय ७५ प्रतिनिधि, स्वयमसेवक र अतिथि गरी ३५ सय जनाका लागि होटल बुक गरिएको छ । त्यसमा प्रतिनिधि बसेको होटलले थप तीन छाक खाना खुवाउने सम्झौता गरिएको छ । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
मूल व्यवस्थापन समिति सहसंयोजक पाण्डेका अनुसार सोमबार दिउँसो र बेलुकाको खाना, मंगलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्ने गरी अर्को सम्झौता गरिएको छ । थप एक दिन खाना र बेडको लागि करिब ७० लाख रुपैयाँमा सम्झौता भएको छ ।
यद्यपि यसको यकिन विवरण पछि प्राप्त हुने उनको भनाइ छ । उनका अनुसार हालसम्म महाधिवेशनमा करिब ९ करोड खर्च भएको छ । एमालेको महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सक्ने तयारी छ । एमालेको महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी नदी किनार र बन्दसत्र सौराहामा भएको हो । महाधिवेशनमा एमालेका २१५३ प्रतिनिधि सहभागी छन् ।


