कञ्चनपुर।नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन् । आज आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरे । खसेको १५ सय ७१ मतमा ८०६ मत प्राप्त गर्दै काँग्रेस कञ्चनपुरको सभापतिमा बोगटी विजयी भएका हुन् । बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए भने नेता थापा अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँद समूहको प्यानलमा थिए ।
त्यसैगरी कांग्रेस उपसभापतिमा मीनबहादुर सिंह र हरिचन्द्र राना निर्वाचित भए । सिंहले ७८६ मत प्राप्त गरे भने रानाले ७६३ मत प्राप्त गरी विजयी भए । उपसभापतिका प्रत्यासीद्वय दिवाकर पाण्डेयले ७०४ र शङ्करबहादुर चन्दले ७४० मत पाए । त्यसैगरी सचिव पदमा भीमराज भट्ट र हेमराज ओझा भए ।
त्यस्तै सहसचिवमा नाफुसिंह साउँद र पुष्कल चौधरी निर्वाचित भए । कांग्रेस कञ्चनपुरका पदाधिकारीको मतपरिणाम सार्वजनिक भए पनि सदस्यको भने गणना कार्य जारी रहेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा कूल एक हजार ५७१ मत खसेको थियो ।(रासस