चितवन। नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र अहिलेसम्म शुरु हुन सकेको छैन । शनिबार बिहान ८ः३० बजे नै बन्द सत्र शुरु हुने भनिए पनि अहिलेसम्म बन्द सत्र हुन नसकेको हो ।
उक्त समय सारेर बिहान १०ः३० बजेलाई हुने भनिएको थियो । तर यो समय घर्केर दिउँसोदेखि मात्र शुरु हुने देखिएको छ । अहिले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा छन् । त्यस्तै भीमबहादुर रावल पक्ष पनि आन्तरिक छलफलमा रहेको छ ।
ओलीले सर्वसम्मत पदाधिकारी चुन्ने पक्षमा छन् । रावल भने सही व्यवस्थापन नभएसम्म चुनावमै गएर जित हार स्वीकार्न तयार रहेको बताउँदै आएका छन्। रावलले अध्यक्ष र घनश्याम भुषाल उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । बिहान ८ः३० देखि उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको थियो ।
अहिले केन्द्रीय सदस्यका आकांक्षी भने भोट माग्न व्यस्त देखिएका छन् । अन्य पदाधिकारीका लागि पनि आन्तरिक छलफलमा जुटिरहेकाले मुख फोडेर भोट माग्न खोजिरहेका छैनन्। हिजोदेखि शुरु भएको महाधिवेशनमा बन्द सत्र शुरु भएपछि उक्त सत्रमा विदेशी पाहुनाहरुले सम्वोधन गर्ने कार्यक्रम छ। तर अहिलेसम्म सत्र शुरु हुन नसक्दा सर्वसम्मतको सपना टाढिएको आशंका गरिएको छ । सर्वसम्मतकै लागि कार्यसमिति सदस्यको संख्या बढाइएको छ। महाधिवेशन भोलिसम्म चल्ने छ ।


