काठमाडौं । न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन्।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै २ बजे सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो। वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै कारण न्यायपालिकामाथिको विश्वास गुम्न थालेको र अदालतमा विसंगति मौलाएको भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको छ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने र प्रधानन्यायाधीशको इजलासमा बहस समेत नगर्ने बताइसकेको नेपाल बारले प्रधानन्यायाधीशलाई विदा गर्नुपर्ने आधार, कारण र आरोपसहित ज्ञापनपत्र बुझाएको हो। नेपाल बार एशोसिएसनका प्रतिनिधिसँगको छलफलमा सभामुख सापकोटाले कानुन व्यवसायीले गरिरहेको आन्दोलनमा आफ्नो ध्यानाकर्षण भएको र यो विषयमा आफूले खेल्नुपर्ने भूमिका खेल्ने बताए। उनले आफू निष्पक्ष भूमिका निर्वाह गर्ने भन्दै आफ्नो निष्पक्षता र तटस्थता मुलुकका लागि प्रयोग गर्ने बताए ।


