काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षबिना नै आज सातौं अधिवेशन सुरू भएको छ। सभापति मल्लसहित नेताहरू भने ६ दिनदेखि केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छन्।
जिल्लाबाट पठाएको क्रियाशील सदस्यताको सूची हटाएर केन्द्रबाट नयाँ नाम थपेपछि मल्लसहित उनी पक्षले डडेल्धुरा अधिवेशनमा भाग लिइरहेको छैन। भदौ २५ गते देउवा पक्षले डडेल्धुरामा राज्य शक्तिको दुरूपयोग गर्दै एकलौटी हिसाबले वडा अधिवेशन गरेको आरोप मल्ल पक्षको छ। नयाँ क्रियाशील सदस्यको सूची जारी गर्न मागसहित भदौ २२ गतेदेखि मल्ल पक्ष आन्दोलनमा छ। उनीहरूको विरोधबीच नै वडा अधिवेशन सकियो।
यहाँ पालिका, प्रदेश सभा क्षेत्र हुँदै प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन आज भइरहेको छ। डडेल्धुरामा एकलौटी अधिवेशन भएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरेका थिए। पौडेल पक्षले केन्द्रीय निर्वाचन समितिलाई डडेल्धुरामा फेरि वडा अधिवेशन गर्न माग गरेको थियो। तर सुनुवाइ भएन। आफ्नो जिल्लाका नेता, देउवा केन्द्रीय सभापति भएका बेला अधिवेशनमै भाग लिन बञ्चित गरेको मल्ल पक्षका नेता-कार्यकर्ता गुनासो गर्छन्। कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्याएरमात्रै अन्य जिल्लामा अधिवेशन गरे पनि डडेल्धुरामा विवाद कायमै राखेर अधिवेशन भइरहेका छन्। डडेल्धुरामा आज जिल्ला अधिवेशन भइरहेका बेला कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भने नाराबाजी भयो। आज बिहान १० बजेतिर सानेपामा आन्दोलनकारी ‘डडेल्धुरामा भएको अवैधानिक अधिवेशन खारेज गर, निकम्मा निर्वाचन समिति मुर्दावाद, पार्टीभित्रको एकतन्त्रीय शासन मुर्दावाद, तानाशाही होसियार’जस्ता नारा लगाएका थिए।


