काठमाडौँ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा रहेका वकिल (कानुन व्यवसायी)हरु आज पनि विरोध प्रदर्शन तथा धर्नामा उत्रिने भएका छन् ।
नेपाल बार एसोसिएसनको नेतृत्वमा उनीहरुले सर्वोच्च अदालतको मूल गेटमै धर्ना दिएर प्रधानन्यायाधीशलाई नै सर्वोच्च अदालतभित्र छिर्न नदिने तयारी गरेको बताइएको छ। हिजो बिहीबार पनि उनीहरुले गेटमा धर्ना दिएपछि प्रहरीद्वारा हस्तक्षेप गरेर स्थिति तनावपूर्ण भएको थियो । यसबाट झनै आक्रोशित वकिलहरुले आजदेखि थप सशक्त रुपमा विरोध प्रदर्शन गर्ने तयारी थालेका हुन्।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालतमै प्रवेश गर्न नदिनेगरी धर्ना तयारी गरिएकाले स्थिति थप जटिल बन्न सक्ने बताइएको छ । यस्तै अवस्थालाई लक्षित गरी प्रशासनले पनि सर्वोच्च परिसरमा सुरक्षाकर्मी परिचालन बढाएको छ। सर्वोच्च अदालतले नै थप सुरक्षा बल मगाएर विरोध तथा धर्ना निस्तेज पार्ने तयारी गरेको छ । यसका कारण झडपको स्थिति निम्तिन सक्ने बताइएको छ । प्रहरीले कानून वकिलहरुलाई धर्नास्थलमा नै पुग्न नदिने रणनीति बनाएको छ भने वकिलहरुले सडकबाट भए पनि प्रदर्शन सशक्त बनाउने तयारी गरेका छन् ।


