धनगढी। दलित मुक्ति मोर्चा नेपालले पाँचौं राष्ट्रिय सम्मेलन धनगढीमा गर्ने भएको छ। आज धनगढीमा दलित मुक्ति मोर्चा नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलन कार्तिक २७ देखि धनगढीको पार्कमोडमा हुने जानकारी गराएको हो ।
दलित मुक्ति मोर्चा नेपालले कार्तिक २७ देखि २९ गतेसम्म कैलालीको धनगढीमा पाँचौं सम्मेलन हुने बारे जानकारी दिएको छ। पत्रकार सम्मेलमा बोल्दै मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले धनगढीमा हुने सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको बताए । उनले सम्मेलनको कार्तिक २७ गते हजारौं जनताको उपस्थितिमा कलाकार, बाजागाजा, झाँकी, र र्याली सहित भव्य उद्घाटन गरिने बताए । सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सम्मेलन ‘सामाजिक दलाल पूँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन १ वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्ट्रिय सम्मेलन ११’ भन्ने मूल नाराका साथ यही कार्तिक २७, २८ र २९ गते आयोजना हुन लागेको छ । सम्मेलनमा देशका ७७ वटै जिल्ला र भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरि करिव ३ सय ५० जनाको उपस्थिति हुने जनाइएको छ। त्यस्तै सम्मेलनमा विभिन्न राजनीतिक पार्टी निकट मित्र दलित संघ–सङ्गठनहरु र भारतीय दलित मित्र सङ्गठन, नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई उद्घाटनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको आयोजक दलित मुक्ति मोर्चा नेपालले जनाएको छ।
मोर्चाको आसन्न पाँचौं राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न आ आफ्नो ठाँउबाट साथ र सहयोग गर्न सम्पूर्ण देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी, कम्युनिष्ट क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाज, पत्रकार एवं एवं न्याय र समानताका पक्षधर आम जनसमुदायमा हार्दिक आह्वान समेत गरिएको जनाएको छ।


