दार्चुला। जयसिह धामी वेपत्ता भएको घट्नाको छानबीन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबीन समितिको टोली स्थलगत अध्ययनकोलागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सह सचिव एवं छानबीन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली बिहीबार आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो । जयसिह धामी वेपत्ता प्रकरणमा सुक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन आउने बताउनु भएका गौतम घट्नास्थल पुगेर त्यहाँको वस्तुस्थित ल्याउने जनाएको छ । यस्तै समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ ।
गत साउन १५ गते व्यास गाउँपालिका २ का मालका जयसिह धामी सदरमुकाम खलंगामा महाकालीमा वेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिदा घट्ना घटेको समाचार आएसँगै घट्नाबारे अध्ययन गर्न छानबीन समिति दार्चुला पुगेको हो । वेपत्ता धामी अझै फेला परेका छैनन् । बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल, र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली आज गस्कु गएको हो । नेपाल भारत जोड्ने तुइन लगाएको स्थानीको अवलोक गर्ने छन।
टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन् । भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरेपनि तुइन नकाटेको दाबी गरेको छ । छानविन समितिको प्रतिवेदन अनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ ।


