धनगढी। पछिल्लो ४ दिनसम्म कर्णाली नदीमा बेपत्ता भएका ५ जना अझै सम्म फेला परेका छैनन् । कैलालीको कर्णाली नदिमा पछिल्लो ४ दिनमा मात्रै भएका दुइ ओटा दुर्घटनामा बेपत्ता भएका ५ जना मध्ये अझै सम्म कोही पनि फेला परेका छैनन्। शुक्रबार भएको जिप दुर्घटनाका २ तथा आइतबार डुंगा दुर्घटनाका ३ गरि ५ जना बेपत्ता भएकामा हाल सम्म कोहि पनी फेला नपरेका हुन । शुक्रबार एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। जीपमा सबार तीन जनाको उद्धार गरिएको थियो भने डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्रकास जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी नायव निरीक्षक पुष्कर पन्तले जोशी दम्पतीलाई अझै फेला पार्न नसकिएको र खोजी जारी रहेको बताए। त्यसैगरी आइतबार कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु र थप तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो। कैलालीको मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै दिउँसो १२ बजेतिर नदीमा डुंगा पल्टिँदा थप ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।
प्रहरीका अनुसार सोही डुंगामा रहेका अन्य चार जना भने पौडिएर जोगिएका छन्। उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गैरहेका बेला दुर्घटना भएको हो।घटनास्थलमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन्। नदीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाई भैरहेको छ।

