धनगढी। धनगढीमा जमेको पानी निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा गरेका छन्।धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्न प्रहरीले बल प्रयोग गरेको हो। उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत गरेर १० जना घाइते भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी)विश्व अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको बताए।
उनले सो क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि केही सेल अश्रुग्यास प्रहार गरिएको बताए। सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो। तर वडा नम्बर २ का वासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए। वडा नम्बर २ का वासिन्दाले दुबै वडामा डुबान नहुने गरि समस्या समाधान हुनुपर्ने माग गर्दै आएका छन्। उनका अनुसार घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेपनि अवस्था खतरामुक्त छ । सो क्रममा आक्रोशित भीडलाई तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको छ । अश्रुग्यास प्रहार गरेपछि भीड नियन्त्रणमा आएको थियो । लगातारको वर्षाका कारण विद्युत कार्यालय डुबान परेर विद्युत प्रवाह नै अवरुद्ध हुने अवस्थाकाबीच वडा नम्बर २ का स्थानीयले कल्भर्टमा ग्राभेल भरेर पानी रोकिदिएपछि बाध्य भएर बल प्रयोग गर्नु परेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
यसअघि सोमबार पनि प्रहरीले बल प्रयोग गरेरै कल्भर्टमा हालिएको ग्राभेल जेसीबीको प्रयोग गरेर निकालेपछि जम्मा भएको पानी निकास भएको थियो । तर स्थानीयले मंगलबार फेरि कल्भर्ट बन्द गरिदिएपछि सोमबार रातिदेखि नै परेको पानीले विद्युत कार्यालय, हाटबजार लगायतको क्षेत्र डुबानमा परेको थियो । वडा नम्बर २ का स्थानीयले सो पानीले आफ्ना घरहरु डुबानमा पर्ने भन्दै विरोध गर्दै आएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पानीको उचित दिने निर्णय गरेको थियो । तर स्थानीयले लगातार विरोध र प्रर्दशन गर्न थालेपछि प्रहरीलाई समस्या भएको थियो ।

