धनगढी: स्थानीय कला, संस्कृति, कृषि, पर्यटन तथा व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीको धनगढीमा छैटौँ फुलबारी महोत्सव आयोजना हुने भएको छ । फुलबारी–११ स्पोर्ट्स क्लबको आयोजनामा धनगढी उपमहानगरपालिका–१४ स्थित न्यु सागर युवा क्लबको खेल मैदानमा मंसिर १३ गतेदेखि २२ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।
महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका उत्पादन तथा सेवाको प्रदर्शनी, कृषि उपज प्रदर्शनी, ताजा तरकारी तथा फलफूल प्रदर्शनीसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको बिक्री–वितरण गरिने आयोजकले जनाएको छ ।
त्यस्तै राष्ट्रियस्तरका कलाकारको सांगीतिक प्रस्तुति, हास्यव्यङ्ग्य कार्यक्रम, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता तथा साहित्यिक प्रतियोगिता आयोजना गरिनेछ । विभिन्न जातजातिका सांस्कृतिक झाँकी, आदिवासी तथा जनजाति समुदायको रहनसहन, संस्कृति र भेषभूषाको प्रदर्शन पनि महोत्सवका आकर्षण रहनेछन् ।
बालबालिकाका लागि बाल उद्यान, फुड फेस्टिभल, माछा मेला तथा मनोरञ्जनका विभिन्न गतिविधि सञ्चालन गरिने आयोजक फुलबारी–११ स्पोर्ट्स क्लबका अध्यक्ष महेश गोलेले बताउनुभयो ।
महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी फुलबारी क्षेत्रको पहिचान, स्थानीय उत्पादन, कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक गतिविधिसँग जोड्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवले स्थानीय बजारमा आर्थिक गतिविधि बढाउनुका साथै होटल, यातायात, कृषि, व्यापार तथा अन्य सेवा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
स्थानीय उत्पादनको बजारीकरण, रोजगारीका अवसर सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय उद्यमीबीच व्यावसायिक सम्बन्ध विस्तारमा समेत महोत्सवले सहयोग पुर्याउने आयोजकको विश्वास छ ।
महोत्सवमा करिब ५० वटा व्यापारिक स्टल रहनेछन् । सर्वसाधारणका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । महोत्सवको उद्घाटन मंसिर १३ गते दिउँसो १ बजे गरिने आयोजकले जनाएको छ ।


