डडेल्धुरा — डडेल्धुरा अस्पतालले विभिन्न पदमा ५६ जना कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । अस्पतालले चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्य सेवासँग सम्बन्धित जनशक्ति करार सेवामा नियुक्त गर्न दरखास्त आह्वान गरेको हो । अस्पतालको कर्मचारी पदपूर्ति समितिले शुक्रबार सूचना जारी गर्दै स्वीकृत दरबन्दी तथा कार्यक्रमअन्तर्गत रिक्त पदमा कर्मचारी माग गरेको जनाएको छ । माग गरिएका पदमध्ये सबैभन्दा धेरै स्टाफ नर्सका लागि २५ जनाको दरखास्त आह्वान गरिएको छ । यस्तै, १० जना मेडिकल अधिकृत र पाँच जना हेल्थ असिस्टेन्ट नियुक्त गरिने भएका छन् ।
अस्पतालले विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तितर्फ एक जना ईएनटी सर्जन, एक जना एनेस्थेसियोलोजिस्ट र दुई जना डेन्टल सर्जन माग गरेको छ । त्यसैगरी एक जना फिजियोथेरापिस्ट, तीन जना मेडिकल ल्याब टेक्नोलोजिस्ट र एक जना मेडिकल माइक्रोबायोलोजिस्टका लागि पनि आवेदन खुलाइएको छ ।
अन्य पदमा एक जना डाइटिसियन अधिकृत, एक जना मेडिकल रेकर्डर अधिकृत, तीन जना मेडिकल ल्याब टेक्निसियन, एक जना फिजियोथेरापी सहायक र एक जना हाउसकिपिङ सुपरभाइजर नियुक्त गरिने सूचनामा उल्लेख छ । अस्पतालले सबै पदमा करार सेवामार्फत कर्मचारी नियुक्त गर्ने जनाएको छ । आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, सम्बन्धित व्यावसायिक परिषद्मा दर्ता तथा नवीकरण भएको प्रमाणपत्र र आवश्यक अनुभवका कागजात पेस गर्नुपर्नेछ । विदेशी शिक्षण संस्थाबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले समकक्षताको प्रमाणपत्रसमेत बुझाउनुपर्ने अस्पतालले जनाएको छ ।
अस्पताm प्रशासनका अनुसार इच्छुक उम्मेदवारले अस्पतालको आधिकारिक वेबसाइटबाट आवेदन फाराम डाउनलोड गर्न सक्ने छन् । प्राप्त आवेदनमध्येबाट उम्मेदवार छनोट अन्तर्वार्तामार्फत गरिने अस्पतालले स्पष्ट पारेको छ ।


