धनगढी । धनगढीका खेलमैदानमा यतिबेला साना बालबालिकादेखि किशोर–किशोरीसम्मको चहलपहल बढेको छ। हातमा पानीको बोतल, खुट्टामा फुटबलका जुत्ता र आँखामा भविष्यको सपना बोकेर उनीहरू मैदानमा दौडिरहेका छन्। कोही फुटबल पास गर्न सिक्दैछन्, कोही बल नियन्त्रण गर्न र कोही गोल गर्ने कला सिक्दैछन्। धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ग्रासरुट फुटबल विकास कार्यक्रमको तेस्रो संस्करण शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ। धनगढी रंगशालामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले ग्रासरुट फुटबल कार्यक्रमले भविष्यमा प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले विश्व फुटबलका चर्चित खेलाडी लियोनल मेस्सी र किलियन एम्बाप्पेजस्ता खेलाडी उत्पादन गर्ने सपना बोकेर स्थानीयस्तरबाटै प्रयास सुरु हुनु सकारात्मक भएको बताए। ‘मेस्सी, एम्बाप्पेजस्ता भविष्यका खेलाडी बनाउन यहीँबाट प्रयास सुरु गरेकोमा धनगढी उपमहानगरपालिकालाई धन्यवाद दिन्छु,’ उनले भने, ‘हाम्रा प्रयास भए मात्रै त्यसले सफलता पाउँछ। यस्ता प्रयास सबै तहबाट गर्न आवश्यक छ।’
मुख्यमन्त्री भट्टले प्रदेश सरकार खेलाडी र खेल क्षेत्रको विकासका लागि सधैँ सकारात्मक रहेको पनि बताए। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले यस वर्ष ग्रासरुट कार्यक्रममार्फत करिब ५ हजार किशोर–किशोरीलाई फुटबल प्रशिक्षण दिने लक्ष्य राखिएको बताए। उनका अनुसार धनगढीमा फुटबल र क्रिकेटप्रति बालबालिका तथा युवाको आकर्षण बढ्दै गएको छ। यही आकर्षणलाई व्यवस्थित गर्दै खेलकुदको विकास र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले ग्रासरुट कार्यक्रम सञ्चालन गरिएको हो।
‘फुटबल र क्रिकेटको क्रेज निकै बढेको छ। यही कुरालाई मध्यनजर गर्दै हामीले पहिले ग्रासरुट क्रिकेट गरेका थियौँ र त्यसपछि फुटबल कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ मेयर हमालले भने, ‘यो फुटबलको विकाससँगै लागुऔषध दुव्र्यसनबाट छुटकारा दिलाउने एउटा उपाय पनि हो।’
उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले धनगढीले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। उनका अनुसार स्थानीय तहमा नयाँ प्रतिभाको खोजी र विकासका लागि खेलकुदका कार्यक्रमलाई निरन्तरता दिइएको हो। ‘हाम्रो टिम आइसकेपछि खेलकुदलाई महत्व दिएर ग्रासरुट कार्यक्रम नै सञ्चालन गरेका छौँ,’ उनले भनिन्, ‘शिक्षाको विकासका लागि नमुना विद्यालयदेखि शैक्षिक सुधारका कार्यक्रम सञ्चालन भएका छन्। ती विद्यालयका बालबालिकालाई खेलकुदसँग जोड्न खेलमैदान व्यवस्थापनमा पनि जोड दिएका छौँ।’
धनगढी उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँगको सहकार्यमा विगत दुई वर्षदेखि ग्रासरुट फुटबल विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष कार्यक्रमको तेस्रो संस्करणअन्तर्गत प्रशिक्षण सुरु गरिएको हो। यसपटक धनगढी रंगशालासहित १६ स्थानमा ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन भइरहेको छ। उपमहानगरपालिकाले विभिन्न वडामा खेलमैदानको व्यवस्थापन गरी बालबालिका तथा किशोर–किशोरीलाई नियमित प्रशिक्षणको अवसर उपलब्ध गराएको हो।
मैदानमा अभ्यास गरिरहेका बालबालिकामध्ये कतिपयको सपना भविष्यमा राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरको फुटबल खेलाडी बन्ने छ। उनीहरूका लागि अहिलेको प्रशिक्षण केवल खेल सिक्ने अवसर मात्र होइन, आफ्नो सपना पछ्याउने सुरुवाती यात्रा पनि बनेको छ। ग्रासरुट कार्यक्रमले बालबालिकालाई खेलकुदमा आकर्षित गर्नुका साथै अनुशासन, सामूहिक भावना र स्वस्थ जीवनशैली विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, बालबालिकालाई खेलकुदमा व्यस्त राख्दा लागुऔषध दुव्र्यसन तथा अन्य सामाजिक विकृतिबाट टाढा राख्न सकिने स्थानीय तहको विश्वास छ।


