धनगढी: कुनै बेला ऋषिमुनिहरू भगवान् प्राप्तिको कामनासहित जंगलमा गएर वर्षौंसम्म तपस्या बस्थे। न भोकको चिन्ता हुन्थ्यो, न थकानको। एउटै विश्वास हुन्थ्यो—एक दिन भगवान् प्रकट हुनुहुन्छ र आफ्नो तपस्या पूरा गरिदिनुहुन्छ।
तर सुदूरपश्चिमको कथा फरक छ।
यहाँका करिब २८ लाख जनता वर्षौंदेखि आफ्नै ठाउँमा विकास, स्वास्थ्य र शिक्षाको अधिकार प्राप्तिका लागि तपस्यामा छन्। उनीहरू जंगलमा बसेर होइन, आफ्नै गाउँ, सहर र घरआँगनमा बसेर राज्यसँग आफ्नो अधिकार मागिरहेका छन्।
बिरामी पर्दा उपचारका लागि भारतका विभिन्न सहरसम्म धाउनुपर्ने बाध्यता छ। उच्च शिक्षा अध्ययनका लागि छोराछोरीलाई काठमाडौं वा देशका अन्य सहर पठाउनुपर्ने अवस्था छ। आफ्नै आँगनमा करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचनाहरू वर्षौंसम्म प्रयोगविहीन बनेको हेर्नुपर्ने पीडा छ।
गेटा यसको सबैभन्दा ठूलो उदाहरण हो।
गेटा केवल भौतिक संरचनाको नाम होइन। यो सुदूरपश्चिमको सपना हो। यो यहाँका जनताको आत्मसम्मानसँग जोडिएको विषय हो। आफ्नै प्रदेशमा चिकित्सा शिक्षा पढ्न पाउने र आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने आशा हो।
त्यसैले हामीले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिरहेका छौँ।
यो कुनै व्यक्तिगत स्वार्थको माग होइन। यो कुनै राजनीतिक दल विशेषको माग पनि होइन। यो सुदूरपश्चिमका जनताको साझा आवाज हो।
तर विडम्बना, हाम्रो आवाज पटक–पटक सुनिएजस्तो हुन्छ, तर कार्यान्वयनको तहमा पुग्दा फेरि हराउँछ।
कहिले बजेटको समस्या देखाइन्छ, कहिले ऐनको कुरा गरिन्छ, कहिले संरचना पुगेन भनिन्छ, कहिले मापदण्डको प्रश्न उठाइन्छ। एउटा समस्या समाधान हुन नपाउँदै अर्को समस्या खडा हुन्छ। निर्णय हुन्छ, तर कार्यान्वयन हुँदैन। आश्वासन आउँछ, तर परिणाम आउँदैन।
हामीले कति सरकार आए, कति मन्त्री फेरिए, कति पटक निर्णय भए र कति पटक गेटाको विषय राजनीतिक भाषणको केन्द्र बन्यो भन्ने हिसाब राख्न छाडिसकेका छौँ।
किनकि अब हामीलाई भाषण होइन, विश्वविद्यालय सञ्चालन भएको हेर्नु छ।
अहिले चिकित्सा शिक्षा आयोगबाट एमबीबीएससहित नर्सिङ, ल्याब र अप्टोमेट्रीका गरी ९० सिट स्वीकृत भएको अवस्था छ। यो सुदूरपश्चिमका लागि आशाको किरण हो। तर सिट स्वीकृत हुनु मात्र पर्याप्त छैन। त्यसका लागि आवश्यक जनशक्ति, पदाधिकारी, प्रशासनिक संरचना, शैक्षिक पूर्वाधार र नियमित पठनपाठनको सुनिश्चितता हुनुपर्छ।
हामी फेरि अर्को अन्योलको चक्रमा फस्न चाहँदैनौँ।
गेटा विश्वविद्यालय सञ्चालनको विषयमा संघर्ष समिति निरन्तर खबरदारीमा छ। हाम्रो आन्दोलन कसैको विरोधका लागि होइन। राज्यलाई आफ्नो जिम्मेवारी सम्झाउनका लागि हो। हामी सरकारसँग दया मागिरहेका छैनौँ। हामी अधिकार मागिरहेका छौँ।
सुदूरपश्चिमका जनताले कर तिरेका छन्, राज्य निर्माणमा योगदान दिएका छन्, देशका हरेक क्षेत्रमा आफ्नो श्रम र पसिना दिएका छन्। त्यसैले गुणस्तरीय स्वास्थ्य सेवा र उच्च शिक्षा पाउने अधिकार पनि उनीहरूको हो।
गेटा सञ्चालन भयो भने यहाँका विद्यार्थीले आफ्नै माटोमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाउनेछन्। यहाँका बिरामीले आफ्नै प्रदेशमा विशेषज्ञ उपचार पाउनेछन्। स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनेछ। रोजगारी सिर्जना हुनेछ। र सबैभन्दा महत्वपूर्ण कुरा—सुदूरपश्चिमले राज्यको मूलधारमा आफूलाई बराबरीको नागरिकका रूपमा अनुभूति गर्नेछ।
त्यसैले गेटा चल्नु भनेको एउटा विश्वविद्यालय सञ्चालन हुनु मात्र होइन।
यो सुदूरपश्चिममाथि राज्यको दृष्टिकोण परिवर्तन हुनु हो।
हामीले धेरै वर्ष पर्खिसक्यौँ। धेरै आश्वासन सुनिसक्यौँ। अब पर्खने समय होइन, कार्यान्वयन गर्ने समय हो।
हामी सरकारसँग एउटा मात्र प्रश्न गर्न चाहन्छौँ—
२८ लाख जनताको यो तपस्या अझै कति वर्ष चल्ने हो?
हामी वरदान मागिरहेका छैनौँ।
हामी कृपा मागिरहेका छैनौँ।
हामी कुनै विशेष सुविधा मागिरहेका छैनौँ।
हामी केवल आफ्नो अधिकार खोजिरहेका छौँ।
गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पूर्ण रूपमा सञ्चालन होस्। चिकित्सा शिक्षा सुरु होस्। अस्पताल पूर्ण क्षमतामा सञ्चालन होस्। सुदूरपश्चिमका विद्यार्थीले आफ्नै माटोमा डाक्टर बन्न पाउने अवसर पाऊन् र यहाँका जनताले आफ्नै प्रदेशमा गुणस्तरीय उपचार पाऊन्।
त्यस दिन मात्रै सुदूरपश्चिमको लामो तपस्या पूरा भएको अनुभूति हुनेछ। र राज्यले पनि भन्न सक्नेछ—
“हो, सुदूरपश्चिम पनि यही देशको समान अधिकार भएको भूगोल हो।”
लेखक— धनबहादुर (हेमराज) खत्री ढुंगाना
सदस्य, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समिति


