धनगढी । बजारमा उचित मूल्य नपाउँदा सस्तोमै धान बिक्री गर्नुपर्ने बाध्यतामा रहेका कैलालीका किसानलाई केही राहत हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लामा सरकारी समर्थन मूल्यअनुसार धान खरिद प्रक्रिया अघि बढाएको छ। कम्पनीले मंगलबारदेखि धनगढी उपमहानगरपालिका–१३ स्थित मोहनपुर खरिद केन्द्रबाट धान सङ्कलन सुरु गरेको हो। मंगलबारदेखि नै टीकापुरबाट पनि खरिद थालिएको कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रमुख दीपक थापाले जानकारी दिए।
थापाका अनुसार यस वर्ष कैलालीका पाँच स्थानमा खरिद केन्द्र सञ्चालन गरी किसानको धान खरिद गरिनेछ। मोहनपुर र टीकापुरसँगै गौरीगंगा नगरपालिका–९ को मसुरिया, जोशीपुर तथा भजनीमा पनि खरिद केन्द्र तोकिएका छन्। कम्पनीले यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल मोटो धान खरिद गर्ने लक्ष्य पाएको छ। निर्धारित कोटाअनुसार गौरीगंगा, जोशीपुर र भजनीबाट चार हजार क्विन्टलका दरले धान खरिद गरिनेछ। अन्य खरिद केन्द्रबाट भने ६ हजार क्विन्टलका दरले खरिद गर्ने योजना रहेको थापाले बताए।
खरिद केन्द्रमा धान बिक्री गर्न किसान आउन थालेका छन् । किसानले ल्याएको धानको गुणस्तर परीक्षण गरेर टोकन वितरण गर्ने काम भइरहेको कम्पनीले जनाएको छ। सरकारले यस वर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तोकेको छ। कम्पनीले सोही मूल्यमा किसानसँग धान खरिद गरिरहेको छ।
यसअघि खरिद कोटा निर्धारणमा भएको ढिलाइ तथा चाडपर्वका कारण धान खरिद प्रक्रिया प्रभावित भएको थियो । कम्पनीले मंसिर १ गतेदेखि खरिद सुरु गर्ने तयारी गरे पनि जिल्लास्तरीय खरिद समितिको बैठक बस्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको थिएन। सरकारी खरिद सुरु हुन ढिलाइ भएपछि किसानले भने सस्तो मूल्यमा व्यापारीलाई धान बिक्री गर्नुपरेको थियो । गहुँ खेतीका लागि खेत खाली गर्नुपर्ने र घरायसी खर्चको जोहो गर्नुपर्ने दबाबमा रहेका किसानले प्रतिक्विन्टल २ हजार ५०० देखि २ हजार ८०० रुपैयाँसम्ममा धान बेचिरहेका थिए।
सरकारले तोकेको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ८६० देखि १ हजार १६० रुपैयाँसम्म कममा धान बिक्री गर्नुपरेका किसानले सरकारी खरिद केन्द्र सञ्चालनमा आएपछि उचित मूल्य पाउने अपेक्षा गरेका छन्। यद्यपि, निर्धारित ३० हजार क्विन्टलको कोटाले जिल्लाका सबै किसानको उत्पादन समेट्न सक्ने वा नसक्ने विषय भने खरिदको प्रगतिले निर्धारण गर्नेछ।


