धनगढीः डोटीको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक बडीकेदार मेलामा सहभागी हुन चाहने धनगढीवासीका लागि धनगढी उपमहानगरपालिकाले निःशुल्क बसको व्यवस्था गर्ने भएको छ। उपमहानगरपालिकाले मेलामा सहभागी हुन जाने नगरवासीका लागि पाँचवटा बस सञ्चालन गर्न लागेको हो।
बस मंसिर ६ गते बिहान ११ बजे धनगढीबाट बडीकेदार मेलाका लागि प्रस्थान गर्नेछन् भने मंसिर ७ गते धनगढी फर्किने कार्यक्रम रहेको छ। मेलामा सहभागी हुन इच्छुक धनगढीवासीले मंसिर ४ गते अपराह्न ४ बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन्। यस्तै, नगर प्रमुख गोपाल हमालले नगरवासीलाई बडीकेदार मेलामा सहभागी हुन आग्रह गरेका छन्। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मेलामा सहज रूपमा सहभागी हुन सकून् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको उनले बताएका छन्। बसमा सीट सिमित भएकाले पहिले नाम दर्ता गराउनेलाई प्राथमिकता दिइने उनले बताएका छन्।
उपमहानगरपालिकाको यस व्यवस्थाले बडीकेदार मेलामा सहभागी हुन चाहने नगरवासीलाई आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ।


