दार्चुला: दार्चुलामा पिकनिक खान गएका विद्यार्थी सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार दिउँसो महाकाली नगरपालिका–४, दत्तुस्थित सकार खेलमैदानमा जिप पल्टिँदा पाँच जना घाइते भएका हुन् । प्रहरीका अनुसार खलंगाबाट पिकनिक खान दत्तु पुगेको सुपप्र ०४–००१ ज ०१२२ नम्बरको जिप खेलमैदानमा घुमाउने क्रममा एक्कासि पल्टिएको थियो ।
दुर्घटनामा महाकाली नगरपालिका–४, विद्यानगरटोल बस्ने १७ वर्षीया अनु लुहार, अस्मिता ओड, अनुशा चुनारा, संगीता चुनारा र भुमा चुनारा घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


