धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स प्लेअफ प्रवेशको संघारमा पुगेको छ। लिग चरणको अन्तिम खेल बाँकी रहँदा टोलीको प्लेअफ यात्रा आफ्नै प्रदर्शनमा निर्भर बनेको छ।
मंगलबार जनकपुर बोल्ट्सलाई २७ रनले हराएपछि सुदूरपश्चिमले ६ खेलबाट ८ अंक जोडेको छ। अंकतालिकामा दोस्रो स्थानमा रहेको सुदूरपश्चिम समान अंक भएको काठमाडौं गोर्खाजभन्दा नेट रनरेटमा पछाडि छ। काठमाडौं ८ अंकसहित शीर्ष स्थानमा छ।
एनपीएलको लिग चरणबाट शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ। यस्तोमा सुदूरपश्चिमलाई अन्तिम खेल जिते प्लेअफको टिकट पक्का गर्ने अवसर छ।
काठमाडौंसँगको खेलमा नजर
सुदूरपश्चिमले आगामी शुक्रबार काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल टोलीका लागि प्लेअफ प्रवेशको निर्णायक अवसर बनेको छ। काठमाडौंलाई पराजित गरे सुदूरपश्चिमको अंक १० पुग्नेछ र प्लेअफमा स्थान सुनिश्चित हुनेछ।
तर, काठमाडौंसँग पराजित भए टोली ८ अंकमै रोकिनेछ। त्यसपछि प्लेअफ पुग्न अन्य टोलीको नतिजा र नेट रनरेटको समीकरण कुर्नुपर्ने हुन्छ।
हाल ४ अंक जोडेर रहेका विराटनगर किंग्स र कर्णाली याक्सले बाँकी दुवै खेल जिते ८ अंक पुर्याउन सक्छन्। त्यस्तै, चितवन राइनोजले बाँकी खेलमा जित निकाल्न सके ९ अंकसम्म पुग्ने सम्भावना छ। त्यसैले सुदूरपश्चिमका लागि काठमाडौंविरुद्धको खेल जित्नु नै सबैभन्दा सुरक्षित विकल्प हुनेछ।
नेट रनरेटमा पनि प्रतिस्पर्धा
अंक बराबरीको अवस्था आए नेट रनरेटले टोलीको स्थान निर्धारणमा भूमिका खेल्नेछ। हाल सुदूरपश्चिमको नेट रनरेट प्लस ०.०८२ छ भने काठमाडौंको प्लस १.१६८ रहेको छ।
त्यसैले काठमाडौंविरुद्ध जित निकाल्नुका साथै राम्रो रन अन्तर कायम गर्न सके सुदूरपश्चिमलाई अंकतालिकामा माथिल्लो स्थानमा पुग्नसमेत सहज हुनेछ।
लिग चरणका सात खेल बाँकी रहँदा काठमाडौं र सुदूरपश्चिम प्लेअफका बलिया दाबेदार देखिएका छन्। यद्यपि दुवै टोलीले आफ्नो स्थान औपचारिक रूपमा सुरक्षित गर्न बाँकी छ। सुदूरपश्चिमका लागि अब काठमाडौंविरुद्धको एक खेलले प्लेअफको बाटो तय गर्नेछ।


