डडेल्धुरा — तीस वर्षअघिको तिहार सम्झिँदा डडेल्धुराको अमरगढी नगरपालिका–५ का गणेश साउँदलाई गाउँघरको दृश्य आँखैअगाडि आउँछ। घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मोठ र गोठसम्म माटोका दियो बालेर उज्यालो बनाइन्थ्यो। साँझ परेपछि घरघरमा बालिएका दियोको उज्यालो र गाउँमा गुञ्जिने देउसी(भैलोले तिहारको छुट्टै रौनक थप्थ्यो।
अहिले तिहारको दृश्य फेरिएको छ। घरको धुरीदेखि दैलोसम्म झिलिमिली बत्तीले सजाउने चलन बढेको छ। आधुनिक बत्तीले घर सुन्दर देखिए पनि तिहारको मौलिकता भने हराउँदै गएको हो कि भन्ने उनलाई लागेको छ। साउँदलाई झिलिमिली बत्तीको प्रयोगभन्दा पनि त्यसले विस्तारै विस्थापित गर्दै गएको परम्पराको चिन्ता छ। माटाका दियो बाल्ने चलनसँगै मौलिक भाका र शैलीमा खेलिने देउसी भैलो पनि हराउँदै जान थालेको उनको अनुभव छ। उनका अनुसार तिहारमा भित्रिएको आधुनिकताले उत्सवलाई आकर्षक बनाए पनि पुरानो पुस्ताले अनुभव गरेको सांस्कृतिक रौनक भने अहिले कम देखिन थालेको छ।
अमरगढी नगरपालिका–३ की कमला पाण्डेलाई पनि पुरानो तिहार र त्यतिबेला खेलिने देउसी भैलोको सम्झना ताजै छ। उनका अनुसार पहिले साथीभाइ जम्मा भएर समूह बनाउने र गाउँका घरघरमा पुगेर देउसी भैलो खेल्ने चलन थियो। घरपरिवारले गच्छेअनुसार धान, चामल, मकै र दक्षिणा दिने गर्थे। देउसी भैलोबाट संकलन भएको अन्न र पैसाले साथीभाइ मिलेर रमाइलो गर्ने र पिकनिक जाने चलन पनि थियो।
अहिले भने त्यस्तो सामूहिकता र उत्साह कम हुँदै गएको उनलाई लाग्छ। गाउँमा युवाको उपस्थिति घट्दै जानु यसको एउटा कारण भएको उनको बुझाइ छ। रोजगारीका लागि भारत तथा अन्य मुलुक जाने र अध्ययनका लागि सहर पस्ने क्रम बढेपछि गाउँमा देउसी भैलो खेल्ने युवा नै कम भएका छन्। गाउँमा रहेका युवाले देउसी भैलो खेले पनि परम्परागत भाका र शैलीभन्दा आधुनिक गीतसंगीतमा बढी रमाउने गरेको उनी बताउँछिन्।
‘पहिले साथीभाइ मिलेर गाउँभरि देउसी भैलो खेल्थ्यौँ। अन्न र दक्षिणा संकलन हुन्थ्यो। त्यसबाट सबै मिलेर रमाइलो पनि गथ्र्यौं,’ पाण्डेले पुराना दिन सम्झिँदै भनिन्, ‘अहिले देउसी भैलो खेल्ने चलन नै कम हुँदै गएको छ। खेल्नेहरूले पनि मौलिक भाका र परम्पराभन्दा डिजेमा बज्ने नाच्ने खालका गीतमा रमाउने गरेका छन्।’ देउसी भैलोमा आएको परिवर्तन अमरगढीका साउँद र पाण्डेको अनुभवमा मात्र सीमित छैन। सुदूरपश्चिमका विभिन्न जिल्लामा तिहारका बेला खेलिने मौलिक भैलोको शैली पनि पछिल्लो समय फेरिँदै गएको स्थानीयको अनुभव छ। तिहारका पाँच दिनसम्म समूह बनाएर घरघरमा पुग्ने, मौलिक भाका गाउने, भट्याउने र नाच्ने चलन विस्तारै कम हुँदै गएको स्थानीय धनीराम गिरी बताउँछन्।
उनका अनुसार पहिले भैलो खेल्दा स्थानीय लोकभाका, परम्परागत बाजागाजा र सामूहिक प्रस्तुतिलाई महत्व दिइन्थ्यो। भैलोका गीतमा घरपरिवारको सुख, समृद्धि र उन्नतिको कामना गरिन्थ्यो। अहिले भने डिजेमा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढेको छ। यसले मनोरञ्जन थपे पनि परम्परागत भैलोको पहिचान र मौलिकता जोगाउन नसक्ने उनको भनाइ छ।
देउसी भैलो मनोरञ्जन वा दक्षिणा संकलन गर्ने माध्यम मात्र नभई सामाजिक सद्भाव, सामूहिकता र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो। गाउँका विभिन्न उमेर समूहका मानिस एकै ठाउँमा भेला हुने, एकअर्काको घरमा पुग्ने र सुखदुःख साटासाट गर्ने अवसरका रूपमा पनि यसको महत्व रहँदै आएको छ। तर, बसाइँसराइ, रोजगारीका लागि युवाको पलायन र आधुनिक मनोरञ्जनका माध्यमको बढ्दो प्रभावले यस्तो सामूहिक अभ्यास कमजोर हुँदै गएको स्थानीयको बुझाइ छ। सुदूरपश्चिमको संस्कृतिका जानकार मुरलीधर अवस्थी समयसँगै चाडपर्व मनाउने शैलीमा परिवर्तन आउनु स्वाभाविक भए पनि त्यस क्रममा मौलिक संस्कृति र परम्परालाई बिर्सन नहुने बताउँछन्। नयाँ पुस्तालाई परम्परागत देउसी भैलोको महत्व बुझाउन र पुराना भाका तथा संस्कृतिको अभ्यास गराउन आवश्यक रहेको उनको भनाई छ।
‘आधुनिकतासँगै रमाइलो गर्ने नयाँ तरिका भित्रिनु स्वाभाविक हो। तर, आफ्नो मौलिकता पनि जोगाउनुपर्छ,’ अवस्थीले भने, ‘आयातीत संस्कृतिको प्रभाव बढ्दै जाँदा हाम्रा परम्परा र मौलिक पहिचान हराउने जोखिम हुन्छ।’ उनले नयाँ पुस्तालाई यसको महत्व बुझाएर पुराना संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताए।कान्तिपुरबाट


