धनगढी । कैलालीको गोदावरीमा एक युवक मृत भेटिएका छन्। आइतबार बिहान गोदावरी नगरपालिका–४ स्थित पुलमुनि २७ वर्षीय शेरबहादुर रानामगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार रानामगर प्रायः मादक पदार्थ सेवन गरेर हिँड्ने गर्थे। उनको मानसिक अवस्था पनि सामान्य नरहेको बताइएको छ।
प्रहरीका अनुसार शनिबार पिकनिक खान गोदावरी पुगेको एक समूहसँग रानामगरको विवाद भएको थियो। पिकनिक खाइरहेको समूहको दाउ जबरजस्ती खोसेर प्रहार गर्न खोजेपछि उनीहरू भागेर ज्यान जोगाउन सफल भएका थिए।
त्यसपछि घटनास्थल पुगेको प्रहरीले रानामगरलाई उनका आमाबुवाको जिम्मा लगाएको थियो। तर, त्यसको भोलिपल्टै उनी पुलमुनि मृत अवस्थामा भेटिएपछि घटनाले नयाँ मोड लिएको छ।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट गोदावरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको छ।
युवकको मृत्यु कसरी भयो भन्ने खुलेको छैन। प्रहरीले घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ।


