धनगढी । तिहार नजिकिएसँगै बजारमा विद्युतीय बत्तीको चमक बढेको छ । घरदेखि पसलसम्म झिलिमिली बत्तीले सजिन थालेका छन् । तर, आधुनिक विद्युतीय सजावटको आकर्षणबीच पनि तिहारको परम्परागत पहिचान बोकेका माटाका दियोको महत्व घटेको छैन । बरु तिहार र छठपर्व लक्षित माटाका सामग्रीको व्यापारले बजारमा नयाँ रौनक थपेको छ ।
कैलालीका विभिन्न बजारमा यतिबेला माटाका दियो, कलश तथा पूजामा प्रयोग हुने अन्य सामग्री किन्ने ग्राहकको भीड बढ्न थालेको छ । पर्व नजिकिँदै जाँदा माटाका सामग्रीको माग बढेपछि व्यवसायीलाई बिक्री गर्न भ्याइनभ्याइ भएको छ ।
बर्दगोरिया गाउँपालिका–१ स्थित बौनिया बजारमा माटाका भाँडाकुँडा बिक्री गर्दै आउनुभएकी कमला बजगाईंलाई यतिबेला ग्राहकको माग पूरा गर्नै मुस्किल परेको छ । स्थानीय उत्पादनले मात्रै बजारको माग धान्न नसकेपछि नेपालगन्जबाट समेत माटाका सामग्री मगाउनुपरेको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार तिहार नजिकिएसँगै विशेषगरी माटाका दियोको बिक्री बढेको छ । दियोसँगै कलश र पूजामा आवश्यक पर्ने अन्य सामग्रीको पनि माग उत्तिकै छ ।
तिहारका लागि दियो किन्न पुग्नुभएका लम्कीचुहा नगरपालिका–१०, चुहाका चन्द्रप्रसाद अधिकारीले एक सयभन्दा बढी दियो खरिद गर्ने गरेको बताउनुभयो । आधुनिक विद्युतीय बत्तीले घर सजाउने चलन बढे पनि माटाका दियो बाल्नुको धार्मिक र सांस्कृतिक महत्व छुट्टै रहेको उहाँको भनाइ छ ।
हिन्दु धार्मिक तथा सांस्कृतिक परम्परामा तिहारको दीपावली र छठपर्वमा माटाका दियो तथा भाँडाकुँडाको विशेष महत्व रहँदै आएको छ । धनधान्यकी देवी लक्ष्मीको पूजाका क्रममा घरआँगनमा दियो बाल्ने परम्पराले यसको मागलाई निरन्तरता दिएको छ । विद्युतीय बत्तीले घर झिलिमिली बनाए पनि पूजाआजा र धार्मिक विधिमा माटाकै दियो प्रयोग गर्ने चलन कायमै छ ।
पर्वका बेला बढ्ने माटाका सामग्रीको कारोबारले कुमाले समुदायको परम्परागत पेसालाई समेत टेवा पुर्याएको छ । पुस्तौँदेखि माटोसँग जोडिएको उनीहरूको कला र सीपले बजार पाउनुका साथै स्थानीय उत्पादनको संरक्षणमा पनि सहयोग पुगेको छ । आधुनिकताको प्रभावबीच माटाका दियोप्रतिको आकर्षणले परम्परा र संस्कृतिको निरन्तरता अझै बलियो रहेको देखाएको छ ।


