धनगढी । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि धनगढी बजार धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले धनगढीको फुलवारीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा स्थापना गरिएको अस्पतालले फुलवारी तथा आसपासका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थ्य सेवा सुरु गरेको हो ।
यसअघि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको स्थानमा आवश्यक पूर्वाधार थप गरी अस्पताल सञ्चालन गरिएको हो । सोमबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल, वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरी र वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्टले संयुक्त रूपमा अस्पतालको उद्घाटन गरेका हुन् ।
अस्पतालमा पहिलो चरणमा बहिरङ्ग सेवा (ओपीडी), प्रयोगशाला, फार्मेसी र एक्सरे सेवा सुरु गरिएको छ । आगामी चरणमा आकस्मिक तथा अन्तरङ्ग सेवा सञ्चालन गर्ने तयारी रहेको उपमहानगरपालिकाले जनाएको छ । तत्काल ६ जना स्वास्थ्यकर्मीबाट सेवा सुरु गरिएको अस्पतालमा आवश्यक जनशक्ति थप गर्दै सेवा विस्तार गरिने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । निकट भविष्यमै विशेषज्ञ चिकित्सकबाट समेत सेवा उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ ।
नगरप्रमुख गोपाल हमालले ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गरिएको बताए । बजारभन्दा केही टाढा रहेको फुलवारी क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको उनले जानकारी दिए ।
फुलवारीबाटै नगर बस सेवा सञ्चालन, अपाङ्गता भएका नागरिकको घरघरमा पुगेर स्वास्थ्य अवस्था परीक्षण तथा आवश्यक सहायक सामग्री वितरण, क्षेत्र निर्धारण गरी नमुना विद्यालय सञ्चालन र प्रत्येक महिना वडा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने काम भइरहेको हमालले बताए । ग्रामीण क्षेत्रको समग्र विकासका लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
अस्पताल सञ्चालनमा आएसँगै फुलवारीका स्थानीय बासिन्दामा स्वास्थ्य उपचार सहज हुने अपेक्षा बढेको छ । यसअघि सामान्य स्वास्थ्य समस्या देखिँदा पनि धनगढी बजार पुग्नुपर्ने बाध्यता रहेकामा अब घरनजिकैबाट उपचार सेवा पाउने स्थानीयको विश्वास छ । विशेषगरी आर्थिक अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक, बालबालिका तथा तत्काल स्वास्थ्य परीक्षण आवश्यक पर्ने बिरामीलाई अस्पतालले राहत पुग्ने उनीहरूको अपेक्षा छ ।
तर अस्पताल सञ्चालनमा आउनु मात्रै पर्याप्त नभएको स्थानीयको भनाइ छ । अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, औषधि तथा उपकरणको पर्याप्त व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । विशेषज्ञ चिकित्सकबाट नियमित सेवा उपलब्ध गराउन सके मात्रै अस्पताल स्थापनाको उद्देश्य पूरा हुने स्थानीय मानकुमारी बस्नेत र खिमलाल बराल बताउँछन् ।
१५ शय्याको अस्पताल सञ्चालनमा आउनु फुलवारी तथा आसपासका ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा विस्तारका लागि महत्वपूर्ण पहल हो । तर अस्पतालको प्रभावकारिता यसको भवन र शय्याको संख्याले मात्र निर्धारण गर्ने छैन । आवश्यक जनशक्ति, विशेषज्ञ चिकित्सक, औषधि र उपकरणको व्यवस्थापन गरी नियमित तथा गुणस्तरीय सेवा दिन सके मात्रै ग्रामीण क्षेत्रका नागरिकले सहज स्वास्थ्य सेवाको अनुभूति गर्न पाउनेछन् ।


