धनगढी: नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ । क्यानका सचिव पारस् खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको टिकट मूल्य सार्वजनिक गरेका हुन् ।
क्यानले लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ । त्यसैगरी, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनपीएलको तेस्रो संस्करणका खेलहरू आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । एनपीएलको तेस्रो संस्करणका टिकट बिहीबार साँझ ६ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको क्यानले जनाएको छ ।


