धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ। दशैँ–तिहारको शुभकामना आदानप्रदानसँगै व्यवसायीबीच आपसी सद्भाव, मित्रता र भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिता भोलि दिउँसो २ बजेदेखि धनगढी रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद २५ हजार रुपैयाँ र उपविजेता टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा कैलाली उद्योग वाणिज्य संघअन्तर्गतका वस्तुगत संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुन पाउनेछन्। प्रतियोगितामा १५ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
कैलाली उद्योग वाणिज्य संघका सचिव एवं प्रतियोगिता संयोजक प्रकाश चन्दले दशैँ–तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै व्यवसायीबीच आपसी सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले खेलकुदका माध्यमबाट व्यवसायीबीच मित्रता र सहकार्यको भावना विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे।


