धनगढी: चाङ्गन अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गत धनगढीका लागि आधिकारिक डिलर श्री ग्लोबल प्रालिले कैलालीको धनगढी–१३, राजपुरमा नयाँ शोरुम सञ्चालनमा आएको छ । शोरुम उद्घाटन शिक्षाविद डा.हेमराज पन्तले गरेका हुन् । उद्घाटन सगैं कम्पनीले नयाँ विद्युतीय एसयूभी चाङ्गन नेभो क्यू०५ (नेभो क्यू०५) सार्वजनिक गरेको छ ।
त्यस अवसरमा असोज २६ देखि २९ गतेसम्म चारदिने टेस्ट ड्राइभ क्याम्पसमेत आयोजना गरिने कम्पनीले जनाएको छ । नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीका अनुसार नेभो क्यू०५ मा ५१.९ किलोवाट आवर क्षमताको सीएटीएल लिथियम आइरन फस्फेट ब्याट्री र गोल्डेन सिल्ड २.० प्रविधि प्रयोग गरिएको छ । उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने जनाइएको छ । यसमा अधिकतम १६२ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सुविधा छ ।
१२० किलोवाटको विद्युतीय मोटर रहेको यस गाडीले एनईडीसी परीक्षण चक्रअनुसार एकपटक पूर्ण चार्ज गर्दा ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको छ । गाडीमा २ हजार ७३५ मिलिमिटरको ह्विलबेस र ५४० लिटर क्षमताको बुट स्पेस छ । पछाडिका सिटलाई आवश्यकताअनुसार ढल्काउन सकिने सुविधा पनि उपलब्ध छ । कम्पनीका अनुसार यस मोडलले अन्तर्राष्ट्रियस्तरमा गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरेको छ ।
सन् २०२६ अगस्टको अन्त्यसम्म चीनमा नेभो क्यू०५ को कुल बिक्री १ लाख २५ हजार युनिटभन्दा बढी पुगेको कम्पनीले जनाएको छ । धनगढीमा नयाँ शोरुम सञ्चालनमा आएपछि सुदूरपश्चिमका ग्राहकले चाङ्गनका डीपल तथा नेभो ब्रान्डका विद्युतीय सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा स्थानीयस्तरमै पाउने कम्पनीको अपेक्षा छ ।


