धनगढी । नेपालीको महान् पर्व बडादशैँ आज (आइतबार) देखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको दशैँको औपचारिक सुरुआत भएको हो । घटस्थापनाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा देवी दुर्गा भवानीको आह्वान गर्दै वैदिक विधिपूर्वक पूजा आराधना गरी जमरा राखिरहेका छन् । आजदेखि सुरु भएको नवरात्रिमा नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा, आराधना गरिन्छ ।
धार्मिक मान्यताअनुसार दुर्गा भवानीको आराधना गरिने नवरात्रिका नौ दिन शक्ति उपासनाका लागि विशेष मानिन्छन् । यस अवधिमा देवी दुर्गाका विभिन्न स्वरूपको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गरिन्छ । घटस्थापनादेखि सुरु हुने धार्मिक अनुष्ठान विजयादशमीका दिन टीका र जमरा ग्रहण गरेपछि पनि कोजाग्रत पूर्णिमासम्म विभिन्न परम्पराअनुसार जारी रहन्छ ।
घटस्थापनाका दिन जमरा राख्ने प्रचलन रहेकाले यस दिनलाई कतिपय स्थानमा जमारे औँसीसमेत भन्ने गरिन्छ । यद्यपि, घटस्थापना आश्विन शुक्ल प्रतिपदाका दिन पर्ने पर्व हो । यस दिनदेखि विजयादशमीको अघिल्लो दिनसम्मको अवधिलाई नवरात्रि भनिन्छ ।
घटस्थापनाको साइत बिहान ११ः४७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाका लागि आज ९आइतबार० बिहान ११ बजेर ४७ मिनेटको समय शुभ रहेको छ । आज चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि तिनको शान्ति गर्नुपर्ने समितिले जनाएको छ ।
घटस्थापना दशैँको धार्मिक अनुष्ठान सुरु गर्ने महत्त्वपूर्ण दिन हो । यस दिन शुभ साइतमा कलश स्थापना गरी देवी दुर्गाको आह्वान गरिन्छ । पूजा स्थललाई शुद्ध बनाएर जौ छर्ने, दियो बाल्ने र धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा छ । नौ दिनसम्म जमरालाई नियमित रूपमा पूजा गर्दै हुर्काइन्छ । विजयादशमीका दिन त्यही जमरा देवीको प्रसादका रूपमा ग्रहण गरिन्छ ।
जमरालाई समृद्धि, उर्वरता, शुभता र जीवनको निरन्तरताको प्रतीकका रूपमा लिने गरिन्छ । दशैँमा रातो टीका र जमरा लगाएर आशीर्वाद दिने चलनले नेपाली समाजमा पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र पुस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्परालाई पनि उजागर गर्छ ।


