कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा जग्गामा बेसारखेती गरेका छन्। धान गहुँभन्दा राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा बेसारखेतीमा लाग्नुभएका उहाँ बेसार बिक्रीका लागि बजारको समस्या देखिन थालेपछि चिन्तित भएका छन्। कुतियाकवरमा उत्पादित बेसार विगतका वर्षमा सीमावर्ती भारतीय बजारमा बिक्री हुने गरेको थियो । गत वर्षदेखि भारतमा बेसार जान बन्द भएपछि यस पटक बेसार बिक्रीका लागि बजार खोज्नुपरेको बुढाले बताए।
“धानखेतीभन्दा बेसारखेतीमा राम्रो आम्दानी हुन थालेपछि डेढ बिघा जग्गामा खेती गरेको छु। तर बिक्रीका लागि बजार पाइँदैन कि भन्ने चिन्ता छ”, बुढाले भने, “गत वर्षदेखि बेसार भारत जान बन्द भएपछि नेपालतर्फका उद्योगमा सम्पर्क गर्न थालेका छौँ।” भारतीय बजारमा बिक्री हुँदै आएपछि किसानलाई उत्पादनको बजारीकरणमा समस्या थिएन। तर अहिले भारततर्फ बेसार बिक्री हुन बन्द भएपछि किसानले नेपालमै बजार खोज्नुपर्ने अवस्था आएको छ।
“बेसारखेतीबाट हामीले सबै खर्च कटाएर रु डेढ लाखसम्म आम्दानी गर्थौं”, यहाँका स्थानीय टेकबहादुर सुनारले भने, “यसबाट घरखर्च र बालबच्चाको पठनपाठन राम्रै चलेको थियो।” उनले यहाँका किसानले व्यावसायिक रूपमा बेसारखेती गरे पनि गत वर्षदेखि बजार समस्या आएको बताए। “यसअघि त हाम्रो उत्पादन भारतीय बजारमा बिक्री हुन्थ्यो हामीलाई समस्या थिएन”, उनले भने, “बेसारखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना भए पनि उत्पादनपछि बजार सुनिश्चित नहुँदा समस्या हुने गरेको छ ।” उहाँले १८ कठ्ठा जग्गामा बेसारखेती गर्दै आएका छन्।
बाइस कठ्ठा जग्गामा बेसारखेती गरेका यहाँका मोतिराम सुनार पनि उत्पादनभन्दा पनि बजारको समस्या रहेको बताउँछन्। “यहाँको माटो राम्रो उर्वर छ उत्पादन गर्न समस्या छैन”, उनले भने, “हाम्रा लागि नजिक र सहज पहुँच भारतीय बजार हो तर गत वर्षदेखि भारतीय बजारमा यहाँको उत्पादन जान बन्द भएपछि हामीलाई बजारको समस्या भएको हो।”
बेसारखेतीबाट जीविकोपार्जन गर्दै आएका उनी यसपटक चिन्तित देखिन्छन्। “हाम्रो घरखर्च सबै खेतीबाट चलेको छ अरु रोजगार छैन”, उनले भने, “खेती गर्न पनि ढुक्कसँग गर्न सकिने अवस्था छैन।” उनले किसानको उत्पादनको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने बताए। यहाँका किसानले अहिले बेसार बिक्रीका लागि मसला उद्योगसँग सम्पर्क गरिरहेका छन।
भारतको बजारमा निर्भर हुँदै आएको बेसारखेतीलाई अब नेपालकै बजारसँग जोड्ने चुनौती रहेको किसान बताउँछन्। उत्पादनसँगै बजारको सुनिश्चितता हुनसके कुतियाकवरमा बेसारखेती किसानको आम्दानीको राम्रो माध्यम बन्न सक्ने विश्वास किसानको छ। यहाँका किसानहरुलाई कृषि ज्ञान केन्द्र कञ्चनपुरले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको हो।
दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बूले किसानको समस्यालाई मध्येनजर गरेर नगरपालिकाले मसला उद्योग सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए। “कार्यपालिकाबाट मसला उद्योग सञ्चालन गर्ने निर्णय गरिसकेका छौँ, बजेट पनि विनियोजन भएको छ”, उनले भने, “उद्योग सञ्चालनका लागि ठाउँ खोज्ने काम भइरहेको छ ।” स्थानीयस्तरमा उद्योग सञ्चालनमा आए यहाँका किसानले बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हट्ने छ।


