धनगढी: नवजीवन सहकारी संस्था लिमिटेड र धनगढी उपमहानगरपालिका–१ मा सञ्चालित कैलाली हस्पिटल प्रा.लि. बीच सहकारीका सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सहकारीका सदस्यलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो। सम्झौतापछि नवजीवन सहकारीमा आबद्ध सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यले कैलाली हस्पिटलमा उपचार गराउँदा सम्झौतामा उल्लेखित सेवाहरूमा विशेष छुटको सुविधा प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपालराज पाठक र कैलाली हस्पिटल प्रा.लि.का अध्यक्ष जनकराज जोशीले हस्ताक्षर गर्नुभएको थियो। सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नवजीवन सहकारीका उपाध्यक्ष उत्तम जोशी, सञ्चालक समिति सदस्य लक्ष्मीराज पन्त, महाप्रबन्धक प्रदीपराज जोशी तथा उपप्रबन्धक (कानुन) जयन्द्र ठकुल्लाको उपस्थिति थियो। त्यस्तै, कैलाली हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. आकाश रावल, डा. विवेक जोशी लगायतको सहभागिता रहेको थियो।
सम्झौताले सहकारीका सदस्यलाई स्वास्थ्य उपचारका लागि थप सहज वातावरण निर्माण हुने अपेक्षा गरिएको छ। पछिल्लो समय स्वास्थ्य उपचारको लागत बढ्दै गइरहेका बेला सहकारी र अस्पतालबीचको सहकार्यले सदस्य तथा उनीहरूका परिवारलाई आर्थिक रूपमा समेत राहत पुग्ने नवजीवन सहकारीले जनाएको छ।
नवजीवन सहकारीका अनुसार सदस्यहरूको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, शिक्षा, वित्तीय सेवा तथा अन्य आवश्यक क्षेत्रमा विभिन्न संस्थासँग सहकार्य विस्तार गर्ने नीति लिइएको छ। सोही क्रममा कैलाली हस्पिटलसँग गरिएको सम्झौता पनि सदस्यलाई प्रत्यक्ष लाभ पुर्याउने कार्यक्रमअन्तर्गत रहेको सहकारीको भनाइ छ।
सम्झौताबाट नवजीवन सहकारीका ठूलो संख्यामा रहेका सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यले कैलाली हस्पिटलबाट स्वास्थ्य सेवा लिँदा विशेष छुटको सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन प्रोत्साहन गर्नुका साथै सहकारी र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई समेत थप मजबुत बनाउने विश्वास गरिएको छ।


