धनगढी: धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। माइती पक्षले गुमादेवीलाई कुटपिट गरी हत्या गरिएको आशंका गरेको छ। मृतकका दाजु टीकाराम जोशीका अनुसार असोज ८ गते राति उनका श्रीमान् तेजराज जोशी, सासुसहित घरका सदस्यले गुमादेवीलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
टीकारामका अनुसार गुमादेवी र उनका श्रीमान्बीच लामो समयदेखि विवाद हुँदै आएको थियो। असोज ८ गते दिउँसो माइती जान्छु भनेपछि उनलाई रोकिएको र राति कुटपिट गरेर गम्भीर घाइते बनाएपछि उपचारका लागि कैलाली अस्पताल लगिएको उनले बताए। ‘श्रीमान्–श्रीमतीबीच लामो समयदेखि झगडा भइरहेको हामीले जानकारी पाएका थियौं,’ टीकारामले भने, ‘असोज ८ गते दिउँसो माइत जान्छु भन्दा बहिनीलाई रोकेछन्। राति कुटपिट गरेर गम्भीर घाइते बनाएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको रहेछ। उपचारका क्रममा बुधबार उनको मृत्यु भएको हो।’
मृतकका श्रीमान् तेजराजले राति नशालु पदार्थ सेवन गरी गुमादेवीमाथि ज्यान मार्ने गरी आक्रमण गरेको आरोपसमेत टीकारामले लगाएका छन्। यी आरोपबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। असोज ८ गते राति गम्भीर अवस्थामा कैलाली अस्पतालको भेन्टिलेटरमा भर्ना गरिएकी गुमादेवीको बुधबार उपचारका क्रममा मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले मृतकका श्रीमान् तेजराज जोशीसहित अर्का एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाको वास्तविक कारण र मृत्युको प्रकृतिबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

