अछाम: अछामको चौरपाटी गाउँपालिकामा निरन्तर भइरहेको वर्षाका कारण चौखुट्टे–साँफेबगर सडकखण्ड भासिएको छ । वर्षाका कारण सडकको केही भाग भासिएपछि उक्त सडकखण्डमा सवारीसाधन आवतजावत जोखिमपूर्ण बनेको छ । चौरपाटी क्षेत्र हुँदै साँफेबगरतर्फ जाने सडकको भाग भासिएसँगै सवारीसाधन सञ्चालनमा समस्या भएको हो । लगातारको वर्षाका कारण सडक आसपासको जमिनसमेत गिलो भएकाले सडक थप भासिन सक्ने जोखिम रहेको स्थानीयले बताएका छन् ।
सडक भासिएको स्थानमा सवारीसाधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ । वर्षा नरोकिए सडकको अवस्था थप बिग्रिन सक्ने र यातायात पूर्ण रूपमा प्रभावित हुनसक्ने स्थानीयको भनाइ छ । भासिएको सडकको तत्काल निरीक्षण गरी मर्मत तथा सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था गर्न सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन् ।
यसैबीच, निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानका सडकमा चिरा पर्ने, भासिने तथा पहिरो जाने क्रमसमेत बढेको छ । यसले लामो तथा छोटो दूरीका सवारीसाधनको आवागमनमा चुनौती थपिएको छ । वर्षाका कारण नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरिरहेका छन् ।

