धनगढी: आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय बाजुरा सुदूरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराई र मातहतका प्रहरी कार्यालय प्रमुखबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार एक वर्षको कार्यप्रगति समीक्षा गर्दा जिल्ला प्रहरी कार्यालय बाजुराले उच्चतम अंक हासिल गर्दै सर्वोत्कृष्ट स्थान प्राप्त गरेको हो।
शुक्रबार धनगढीमा भौतिक तथा भर्चुअल माध्यमबाट आयोजित वार्षिक कार्यसम्पादन प्रगति समीक्षा कार्यक्रममा सम्झौताअनुसार मातहत प्रहरी कार्यालयबाट सम्पादित कामको मूल्यांकन गरिएको थियो। सो क्रममा तोकिएको लक्ष्य हासिल गर्दै बाजुरा प्रहरी प्रदेशकै उत्कृष्ट घोषित भएको हो।
सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित भएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी भट्टराईले बाजुरा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहरासहित जिल्ला प्रहरी कार्यालय बाजुरा परिवारलाई बधाई दिएका छन्। यस्तै कार्यक्रममा चालु आर्थिक वर्ष २०८३/८४ का लागि पनि प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखबीच वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ।
सम्झौतामार्फत प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने तथा तोकिएका लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाइएको छ। सम्झौता हस्ताक्षरपछि निर्देशन दिँदै डीआईजी भट्टराईले वार्षिक कार्यसम्पादन सम्झौता नेपाल प्रहरीको कामकारबाहीको महत्वपूर्ण आधार भएकाले यसलाई विशेष प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए। उनले आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी चुस्त, दुरुस्त र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न तथा सम्झौतामा तोकिएका लक्ष्य प्राप्तिका लागि सक्रिय भएर काम गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।

