धनगढी । कृत्रिम बौद्धिकता (AI) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला यसको विद्यार्थीको अध्ययन, सिर्जनशीलता र भविष्यमा पर्ने प्रभावबारे Axis Podcast मा विशेष संवाद गरिएको छ।
“AI अर्थात् Artificial Intelligence: विद्यार्थीका लागि अवसर कि चुनौती?” विषयमा केन्द्रित Podcast मा इन्जिनियर रोशन श्रेष्ठ र कक्षा १२ विज्ञान, कम्प्युटर समूहकी विद्यार्थी अनुष्का रोकायाबीच संवाद भएको हो।
“Every Voice Matters” भन्ने मूल भावका साथ तयार गरिएको संवादमा विद्यार्थीको सिकाइमा AI ले पार्न सक्ने सकारात्मक प्रभावदेखि यसको अत्यधिक प्रयोगबाट उत्पन्न हुन सक्ने चुनौतीसम्मका विषय समेटिएका छन्।
AI को प्रयोगबाट कठिन विषय बुझ्न, आवश्यक जानकारी खोज्न, अध्ययन सामग्री व्यवस्थित गर्न तथा सिकाइलाई थप प्रभावकारी बनाउन सकिने संवादमा उल्लेख गरिएको छ। तर हरेक कामका लागि AI माथि निर्भर हुँदा विद्यार्थीको आफ्नै सोच्ने, लेख्ने, सिर्जना गर्ने र समस्या समाधान गर्ने क्षमतामा असर पर्न सक्ने विषयमा पनि सचेत गराइएको छ।
Podcast मार्फत AI लाई पढाइमा ‘शर्टकट’ का रूपमा नभई learning tool का रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ। AI बाट प्राप्त जानकारीको विश्वसनीयता जाँच गर्ने, विद्यालय तथा शिक्षकले निर्धारण गरेका शैक्षिक नियम पालना गर्ने र आफ्नै creativity तथा critical thinking लाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिइएको छ।
भविष्यमा रोजगारीका क्षेत्रमा AI को प्रभाव बढ्दै जाने सम्भावनाबीच विद्यार्थीले प्रविधिसँगै मानवीय सीप पनि विकास गर्नुपर्नेमा संवादमा जोड दिइएको छ। AI लाई विद्यार्थीको प्रतिस्थापनभन्दा पनि सिकाइको साझेदारका रूपमा उपयोग गर्न सकिने धारणा प्रस्तुत गरिएको छ।
Axis +2 का संयोजक घनश्याम मलासीले विद्यार्थीभित्र रहेका प्रतिभा, विचार, सिर्जनशीलता र सम्भावनालाई उजागर गर्ने उद्देश्यले Podcast सुरु गरिएको बताए।
उनका अनुसार विद्यार्थीको क्षमता परीक्षा र कक्षाकोठामा मात्र सीमित नरहने भएकाले उनीहरूका विचार र आवाजलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर आवश्यक छ। यही उद्देश्यअनुसार Axis Podcast लाई अघि बढाइएको उनले बताए।
Podcast को संवादमा AI ले भविष्य बनाउने होइन, AI लाई सही ढंगले प्रयोग गर्ने विद्यार्थीले भविष्यका लागि आफूलाई तयार पार्ने सन्देशसमेत प्रस्तुत गरिएको छ।
Axis Podcast ले आगामी दिनमा पनि विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वसँग शिक्षा, प्रविधि र विद्यार्थीको भविष्यसँग सम्बन्धित विषयमा संवाद गर्ने जनाएको छ।

