धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरका ३४ वर्षीय दीपक सुनारको हत्या प्रकरणको अनुसन्धानले गम्भीर र योजनाबद्ध घटनाक्रम बाहिर ल्याएको छ। आफ्नै श्रीमान् बेपत्ता भएको भन्दै प्रहरी गुहार्ने उनकी श्रीमती यमुना सुनार नै हत्या योजनामा जोडिएको अभियोगपत्रमा उल्लेख छ।
प्रहरी स्रोतका अनुसार दीपकको गत साउन २१ गते राति अमरावतीस्थित ऐश्वर्य सामुदायिक वनको डुँडेझारी सडक खण्डमा हत्या भएको थियो। हत्या गर्नुअघि योजना बनाउनेदेखि शव कर्णाली नदीमा लगेर फाल्नेसम्मको घटनाक्रममा पाँच जनाको संलग्नता रहेको अभियोगपत्रमा दाबी गरिएको छ।
यही अभियोगमा पक्राउ परेका यमुनासहित पाँच जनालाई जिल्ला अदालत कैलालीले बिहीबार पुर्पक्षका लागि कारागार चलान गरेको छ। जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले यमुना सुनार, उनका प्रेमी दुर्योधन सुवर्णकार, रामराजेश महतो, वीरेन्द्र राना र भीमराज रानालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।
अभियोगपत्रअनुसार यो घटना अचानक भएको होइन। लामो समयदेखि विकसित हुँदै आएको सम्बन्ध, पारिवारिक विवाद, पैसाको लेनदेन र त्यसपछि बनेको हत्या योजनाले अन्ततः दीपकको ज्यान लिएको अनुसन्धानबाट खुलेको छ।
दीपक २०८० सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। त्यही क्रममा उनकी श्रीमती यमुना र गाउँकै दुर्योधन सुवर्णकारबीच सम्बन्ध नजिकिएको अभियोगपत्रमा उल्लेख छ।
यसअघि दीपक लागूऔषधसम्बन्धी घटनामा पक्राउ पर्दा उनलाई छुटाउन दुर्योधनले सहयोग गर्ने गरेको र सोही क्रममा यमुना र दुर्योधन नजिकिएको अनुसन्धानमा खुलेको दाबी गरिएको छ।
दीपक मलेसियामा रहँदा यमुना र दुर्योधनको सम्बन्धबारे जानकार भएको र २०८३ वैशाख १३ गते नेपाल फर्किएपछि विवाद बढेको अभियोगपत्रमा उल्लेख छ। दीपकले श्रीमतीसँगको सम्बन्धलाई लिएर दुर्योधनसँग विवाद गर्न थालेपछि उनीहरूबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो।
यमुनाले दुर्योधनको नम्बर ब्लक गरे पनि उनले नयाँ नम्बरबाट फोन तथा सन्देश पठाउने गरेको अभियोगपत्रमा उल्लेख छ। एकातिर दीपकसँगको विवाद र अर्कोतिर यमुनासँगको सम्बन्धलाई लिएर दुर्योधनले दीपकलाई हटाउने योजना बनाएको अनुसन्धानबाट खुलेको छ।
पाँच लाखको हत्या योजना
अभियोगपत्रअनुसार गत जेठमै दुर्योधनले यमुनालाई फोन गरेर आफूले दीपकलाई मार्ने मानिस खोजिसकेको र त्यसका लागि उनको सहयोग आवश्यक पर्ने बताएका थिए।
पहिलो योजना दीपकलाई कञ्चनपुरको बेलौरी लगेर हत्या गर्ने थियो। त्यसका लागि रामराजेश महतो, वीरेन्द्र राना र भीमराज रानालाई योजनामा जोडिएको अभियोगपत्रमा उल्लेख छ।
वीरेन्द्र र भीमराजले हत्या गर्न पाँच लाख रुपैयाँ मागेका थिए। दुर्योधनले रकम घटाएर एक लाख ६० हजार रुपैयाँमा सहमति गराएका थिए। त्यसमध्ये २० हजार रुपैयाँ अग्रिम दिइएको अभियोगपत्रमा उल्लेख छ।
तर, दीपक ४१ दिनको कैद सजाय भुक्तान गर्न कैलाली कारागार गएपछि उक्त योजना रोकियो। त्यसपछि नयाँ योजना बन्यो—दीपक जेलबाट छुट्ने र त्यसपछि उनलाई अमरावतीको जंगलमा लगेर हत्या गर्ने।
‘डिभोर्स होइन, दीपकलाई साइड लगाउँछु’
साउन १६ गते दुर्योधनले यमुनालाई टीकापुरस्थित सिटी इन होटलमा बोलाए। त्यहाँ दीपकको हत्या योजनाबारे छलफल भएको अभियोगपत्रमा उल्लेख छ।
यमुनाले सुरुमा दीपकलाई सम्बन्धविच्छेद दिने प्रस्ताव राखेकी थिइन्। तर, दुर्योधनले सम्बन्धविच्छेद नगरी दीपकलाई नै ‘साइड लगाउने’ बताएपछि यमुना हत्या योजनामा सहमत भएको अभियोगपत्रमा दाबी गरिएको छ।
साउन १७ गते दीपक कारागारबाट छुटे। यमुनाले उनलाई माइतीघर लगिन्। केही दिन ससुरालीमा बसेपछि साउन २१ गते दीपकलाई धामीकहाँ लगेर पूजाआजा गर्नुपर्ने भन्दै यमुनाले अमरावतीतर्फ लैजाने योजना बनाएको अनुसन्धानमा खुलेको छ।
त्यस दिन दीपक आफ्ना बाबुआमालाई भेटेर पुनः ससुराली फर्किएका थिए। त्यसपछि यमुनाले उनलाई लिएर अमरावतीस्थित ऐश्वर्य सामुदायिक वनतर्फ गइन्।
जंगलमा रोकियो स्कुटर, हेल्मेटमै हथौडा
राति करिब ९ बजेर २३ मिनेटमा दुर्योधनले यमुनालाई फोन गरेर हत्या टोली तयारी अवस्थामा रहेको जानकारी गराएको अभियोगपत्रमा उल्लेख छ। करिब साढे ९ बजे डुँडेझारी सडक खण्डमा भीमराज रानाले दीपक सवार स्कुटर रोके।
‘राति जंगलमा केटी लिएर हिँड्ने तिमी को हौ?’ भन्दै दीपकलाई सोधियो। दीपकले आफ्नो परिचय बताउनेबित्तिकै वीरेन्द्र रानाले हथौडाले उनको हेल्मेटमा प्रहार गरेको अभियोगपत्रमा उल्लेख छ। प्रहारपछि दीपक भुइँमा ढले।
तर, हत्या त्यहीँ रोकिएन। शव व्यवस्थापनका लागि उनीहरूले पहिल्यै तयारी गरेको अनुसन्धानबाट खुलेको छ। शवलाई प्लास्टिकको जेब्रा झोलामा हालेर कर्णाली नदीमा फाल्ने योजना बनाइएको थियो।
वीरेन्द्रले दुर्योधनलाई फोन गरेपछि दुर्योधन र रामराजेश महतोसमेत घटनास्थल पुगे। त्यसपछि शवलाई मोटरसाइकलमा राखेर जंगलबाट कटासेतर्फ लगिएको र करिब पाँच किलोमिटर टाढा कर्णाली नदीमा फालिएको अभियोगपत्रमा उल्लेख छ।
शव नदीमा फालेपछि दुर्योधनले यमुनालाई फोन गरेर ‘दीपकको ठेगाना लगाइयो’ भन्दै घटनाबारे कसैलाई नभन्न भनेको अभियोगपत्रमा उल्लेख छ।
श्रीमान् हराएको भन्दै प्रहरी गुहार्ने यमुना नै अनुसन्धानको केन्द्रमा
दीपक बेपत्ता भएपछि यमुनाले भने श्रीमान्को खोजी गरिदिन भन्दै प्रहरीमा हारगुहार गरेकी थिइन्। सञ्चारमाध्यममा समेत उनले प्रहरीमाथि श्रीमान्को खोजीमा चासो नदिएको आरोप लगाएकी थिइन्। तर, प्रहरीले दीपक बेपत्ता भएको घटनाको अनुसन्धान गर्दै जाँदा अनुसन्धानको केन्द्रमै यमुना र दुर्योधनको सम्बन्ध देखियो।
उनीहरूबीचको निरन्तर फोन सम्पर्क, सन्देश आदानप्रदान, घटनामा जोडिएका अन्य व्यक्तिसँग दुर्योधनको सम्पर्क तथा रकम कारोबार अनुसन्धानको आधार बनेको अभियोगपत्रमा उल्लेख छ। दुर्योधनले रामराजेश, वीरेन्द्र र भीमराजसँग पटक–पटक सम्पर्क गरेको तथा रकम पठाएको विषयसमेत अनुसन्धानमा आएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार अनुसन्धानबाट विवाहेत्तर सम्बन्धपछि उत्पन्न परिस्थितिका कारण दीपकको हत्या भएको खुलेको हो।
प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मिसिल बुझाएको थियो। सरकारी वकिल कार्यालयले मंगलबार पाँच जनाविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य ज्यानको मुद्दा जिल्ला अदालत कैलालीमा दायर गरेको थियो।
अदालतले बिहीबार पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। अभियोगपत्रमा उल्लेखित आरोपको अन्तिम कानुनी निष्कर्ष भने मुद्दाको सुनुवाइ र प्रमाण परीक्षणपछि अदालतबाट हुने छ।

