धनगढी: नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेशसभा सदस्य कर्णबहादुर मल्लले जिल्लामा जारी अधिवेशन प्रक्रिया तत्काल स्थगन गरी पार्टी एकताका लागि पहल गर्न आग्रह गरेका छन् । मल्लले शनिबार सार्वजनिक गरेको वक्तव्यमार्फत वर्तमान परिस्थितिमा पार्टी विभाजनतर्फ जानु मुलुक र लोकतान्त्रिक आन्दोलनका लागि दुर्भाग्यपूर्ण हुने भन्दै नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनलाई ‘ऐतिहासिक एकता अधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
उनले डडेल्धुरामा १ मा सम्पन्न जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेलापछि जिल्ला कार्यसमितिको बैठकसमेत नराखी अधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् । मल्लका अनुसार भेलामा सहभागी अधिकांश नेता तथा कार्यकर्ताले जिल्लामा पार्टीभित्र विभाजन उत्पन्न हुन नदिने गरी उपयुक्त निर्णय लिन दबाब दिएका थिए । तर, त्यसको विपरीत अधिवेशनको प्रक्रिया अघि बढाइएको उनको दाबी छ ।
‘जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेलाको उपस्थितिमा निर्णय लेखी एकाएक अधिवेशनको प्रक्रिया थालनी गरिनुबाट पार्टी विखण्डनतर्फ जानसक्ने जोखिम बढेको छ,’ मल्लले भनेका छन् । डडेल्धुराका अधिकांश स्थानीय तह तथा वडा कार्यसमितिले अधिवेशन स्थगन गर्न प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको दाबी गर्दै मल्लले पार्टी विभाजनको पक्षमा अधिकांश नेता–कार्यकर्ता नरहेको बताएका छन् ।
उनले अधिवेशनको प्रक्रियामा अन्तिम मतदाता नामावलीमा थुप्रै कार्यकर्ताको नाम समावेश नगरिएको समेत आरोप लगाएका छन् । साथै, विगतको जिल्ला अधिवेशनकै शैलीमा पार्टी सत्ताको दुरुपयोग गरी ‘कोठे अधिवेशन’ गराउन खोजिएको भन्दै उनले त्यसबाट कार्यकर्तामा असन्तुष्टि बढेको बताएका छन् । ‘अन्तिम मतदाता नामावलीमा थुप्रै साथीहरूको नाम समावेश नगरिनु र सातौँ जिल्ला अधिवेशनमा जस्तै निरंकुश शैलीमा अधिवेशनका नाममा पार्टी सत्ताको दुरुपयोग गरी पार्टी कब्जा गर्ने अभिप्रायले भइरहेको कोठे अधिवेशनका कारण आम कार्यकर्ताहरूमा व्यापक असन्तुष्टि छाएको छ,’ वक्तव्यमा उल्लेख छ ।
मल्लले डडेल्धुराको राजनीतिक विशिष्टतालाई ध्यानमा राख्दै केन्द्रीय कार्यसमितिले निर्धारण गरेको अधिवेशन कार्यतालिकामा आवश्यक हेरफेर गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवासहितको सहभागितामा १५औँ महाधिवेशन सम्पन्न गराउन पहल गर्नुपर्ने उनको भनाइ छ ।

