धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल सुदूरपश्चिम प्रदेश समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले वाईसीएल सुदूरपश्चिमले उक्त रकम सहयोग गरेको हो ।
वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेश संयोजक बसन्त कार्कीका अनुसार विशेष कारणवश प्रत्यक्ष रूपमा उपस्थित भएर राहत तथा पुनर्निर्माणको काममा सहभागी हुन नसके पनि प्रदेश समितिबाट संकलित रकम केन्द्रीय कार्यालयको खातामा जम्मा गरी राहत तथा पुनर्निर्माणका लागि पठाइएको हो । उनले विपद्को समयमा सहयोग गर्ने वाईसीएलका नेता, कार्यकर्ता तथा सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।


