धनगढी: कैलालीमा जापानिज इन्सेफलाइटिस अर्थात् जेई रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सुरु भएको छ । धनगढी उपमहानगरपालिका, लम्कीचुहा र घोडाघोडी नगरपालिकामा बिहीबारदेखि खोप अभियान सञ्चालन गरिएको हो । घोडाघोडी नगरपालिकामा १३ वटा स्वास्थ्य संस्थामार्फत १२ वटै वडामा खोप लगाउन थालिएको छ । अभियानअन्तर्गत ३० वर्ष उमेर पुगेका तथा सोभन्दा माथिका नागरिकलाई असोज ७ गतेसम्म जेईविरुद्धको खोप दिइने स्वास्थ्य शाखाले जनाएको छ ।
अभियान सुरु भएसँगै विभिन्न खोप केन्द्रमा बिहानैदेखि नागरिकको भीड लागेको छ । घोडाघोडी नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराका अनुसार पछिल्ला तीन वर्षयता नगरपालिकामा जेईका बिरामी देखिन थालेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर ५ र ६ का दुई जनाको जेई संक्रमणबाट मृत्यु भएको थियो । यसअघि वडा नम्बर ४ का एक जनामा संक्रमण देखिए पनि उपचारपछि निको भएका थिए ।
जोखिम बढेपछि स्वास्थ्य शाखाले खोपसँगै समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमलाई समेत तीव्रता दिएको छ । १३ वटा स्वास्थ्य संस्थामार्फत सञ्चालन हुने अभियानमा ८४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । स्वास्थ्यकर्मीका अनुसार जेई क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो । संक्रमित सुँगुर वा बंगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा संक्रमण हुन सक्छ ।
लामखुट्टेको टोकाइबाट जोगिन, राति झुल प्रयोग गर्न, घरवरिपरि पानी जम्न नदिन र सरसफाइमा ध्यान दिन स्वास्थ्य शाखाले आग्रह गरेको छ । अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने वा झट्का आउनेजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्न सिनियर अहेब बोहराको आग्रह छ ।
नेपालमा जेईविरुद्ध नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आए पनि घोडाघोडीमा पछिल्लो जोखिमलाई ध्यानमा राख्दै अहिले ३० वर्ष उमेर पुगेका तथा सोभन्दा माथिका नागरिकलाई लक्षित गरी विशेष खोप अभियान सञ्चालन गरिएको हो ।

