धनगढीः कुनै व्यक्तिको जीवन केवल उसको व्यक्तिगत सफलताले मात्र होइन, उसले समाजका लागि गरेको योगदानले पनि मापन गरिन्छ । सुदूरपश्चिम प्रदेशमा सामाजिक सेवा, विद्यार्थी आन्दोलन, खेलकुद विकास तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय नाम हो– घनश्याम भट्ट । बाल्यकालदेखि नै नेतृत्व क्षमता प्रदर्शन गरेका भट्टले आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक न्याय, विद्यार्थी अधिकार, खेलकुद विकास तथा विपन्न वर्गको सेवामा समर्पित गरेका छन् ।
धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा जन्मिएका घनश्याम भट्ट मध्यमवर्गीय परिवारका सदस्य हुन् । उनका पिता रामचन्द्र भट्ट निजामती सेवामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए भने माता यशोदा देवी भट्टले परिवारको जिम्मेवारी सम्हाल्दै छोराछोरीको शिक्षादीक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिन् । सीमित आर्थिक स्रोत भए पनि परिवारले शिक्षालाई प्राथमिकतामा राखेकाले घनश्यामले अध्ययनसँगै सामाजिक गतिविधिमा सक्रिय हुने अवसर पाए । उनको प्रारम्भिक शिक्षा श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय, धनगढी–१३ कैलाली गाउँबाट सुरु भएको हो । विद्यालय जीवनदेखि नै नेतृत्व क्षमता भएका विद्यार्थीका रूपमा परिचित भट्टले सानै उमेरदेखि सामाजिक उत्तरदायित्वको भावना विकास गरेका थिए । उनले उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसबाट हासिल गरेका छन् । इन्टरमिडियट तहमा वाणिज्य विषय अध्ययन गरेका उनले स्नातक तहमा समाजशास्त्र लगायतका विषय अध्ययन गरे । समाजशास्त्रको अध्ययनले समाजका विविध वर्ग, समस्या र समाधानका उपायबारे बुझ्न सहयोग पुगेको उनी निकटहरू बताउँछन् ।
घनश्याम भट्टको सामाजिक यात्राको सुरुवात विद्यालय अध्ययनकै क्रममा भएको थियो । कक्षा ६ मा अध्ययनरत रहँदा उनी कैलाली एकता बाल क्लबको अध्यक्ष बने । बालअधिकार, बाल सहभागिता तथा सामाजिक चेतनामूलक कार्यक्रममार्फत उनले नेतृत्व क्षमताको विकास गरे । त्यसपछि जिल्ला बाल सञ्जालसँग आबद्ध हुँदै बालबालिकाको हकअधिकारका विषयमा आवाज उठाउन थाले । कक्षा ७ मा अध्ययनरत रहँदा उनले तत्कालीन नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनको विद्यालय इकाई अध्यक्षको जिम्मेवारी पाए । त्यहीँबाट उनको राजनीतिक तथा संगठनात्मक यात्राले औपचारिक रूप लियो । विद्यार्थी आन्दोलनमार्फत शिक्षा क्षेत्रमा देखिएका समस्या, विद्यार्थी अधिकार र सामाजिक न्यायका विषयमा उनले सक्रिय भूमिका निर्वाह गरे ।
अखिल क्रान्तिकारीमा उनको सक्रियता क्रमशः बढ्दै गयो । इकाई अध्यक्षबाट सुरु भएको यात्रा संगठनको केन्द्रीय सदस्यसम्म पुग्यो । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेपछि उनले स्वेच्छिक रूपमा विद्यार्थी संगठनबाट विदाइ लिए । त्यसपछि उनी अखिल नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवको जिम्मेवारीमा पुगे । खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यमका रूपमा स्थापित गर्न उनले विभिन्न गतिविधि सञ्चालन गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनपछि उनी कैलाली जिल्ला समिति सदस्य बने । तर पार्टी पुनः विभाजन भएपछि उनले स्वतन्त्र नागरिकको हैसियतबाट समाजसेवा र जनहितका अभियानमा आफूलाई केन्द्रित गरे । हाल उनी कुनै दलगत जिम्मेवारीमा नरही सामाजिक कार्यमा सक्रिय छन् ।
घनश्याम भट्ट विभिन्न सामाजिक तथा खेलकुद संस्थामा नेतृत्वदायी भूमिकामा रहेका छन् । उनी कैलाली एकता बाल क्लबका अध्यक्ष, सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका सदस्य, राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय सचिव, श्री शैलेश्वरी स्पोर्ट क्लबका अध्यक्ष तथा ‘खान पुगोस, दिन पुगोस अभियान नेपाल’का अध्यक्षका रूपमा कार्यरत छन् । यी संस्थामार्फत उनले युवालाई सकारात्मक गतिविधिमा जोड्ने, खेलकुदको विकास गर्ने तथा समाजका विपन्न वर्गलाई सहयोग पु¥याउने काम गर्दै आएका छन् ।
उनको सामाजिक सेवाको क्षेत्र निकै फराकिलो छ । उनले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरी युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने प्रयास गरेका छन् । खेलकुदले अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा योगदान पु¥याउने विश्वासका साथ उनले विभिन्न जिल्लामा प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छन् । विद्यार्थी हकअधिकारका क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ । आर्थिक अभावका कारण शिक्षा प्राप्त गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले उनले विभिन्न अभियान सञ्चालन गरेका छन् । सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लामा विद्यालय पोशाक, झोला, शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गर्दै हजारौं विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पु¥याएका छन् ।
उनको नेतृत्वमा सञ्चालन भएका अभियानमार्फत हालसम्म करिब ६ हजार ५०० विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरिएको छ । विद्यालय पोशाक, कापीकलम, झोला, खेलकुद सामग्री तथा अन्य आवश्यक शैक्षिक सामग्री प्राप्त गरेपछि धेरै विद्यार्थीको अध्ययनमा सहजता आएको छ । विशेषगरी दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकाले प्रत्यक्ष लाभ पाएका छन् । घनश्याम भट्टले शिक्षा क्षेत्र मात्र होइन, स्वास्थ्य क्षेत्रमा पनि सहयोगी भूमिका निर्वाह गरेका छन्। आर्थिक अभावका कारण उपचार गराउन नसक्ने गरिब तथा विपन्न नागरिकका लागि सहयोग संकलन गरी उपचारमा सहजता गराउने अभियान सञ्चालन गरेका छन् । विभिन्न सहयोगी, दाता तथा सामाजिक अभियन्ताको सहकार्यमा उपचार खर्च जुटाउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।

त्यसैगरी, समाजमा आश्रयविहीन भएर कष्टकर जीवन बिताइरहेका नागरिकको उद्धार तथा व्यवस्थापनमा पनि उनको सक्रियता देखिन्छ । विभिन्न मानवसेवा संस्थासँग समन्वय गरी बेवारिसे, असहाय तथा संरक्षण आवश्यक भएका व्यक्तिको उद्धार र उचित व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । मानवीय संवेदनालाई केन्द्रमा राखेर गरिएका यस्ता कार्यले उनलाई समाजसेवीका रूपमा थप परिचित बनाएको छ । हाल उनी अध्यक्ष रहेको ‘खान पुगोस, दिन पुगोस अभियान नेपाल’ सुदूरपश्चिम क्षेत्रमा चर्चित सामाजिक अभियानका रूपमा विकसित हुँदै गएको छ । यस अभियानमार्फत देश तथा विदेशमा रहेका सहयोगी दाताबाट आर्थिक सहयोग संकलन गरी विपन्न विद्यार्थी, असहाय परिवार, बिरामी तथा संकटमा परेका व्यक्तिलाई सहयोग प्रदान गरिन्छ ।
अभियानले विशेषगरी गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, न्यानो कपडा उपलब्ध गराउने, असहाय परिवारलाई राहत वितरण गर्ने तथा उपचारका लागि आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ । कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा न्यानो कपडा, झोला तथा शैक्षिक सामग्री वितरणको कार्य निरन्तर जारी छ । यस अभियानबाट लाभान्वित भएका विद्यार्थी र परिवारहरूको संख्या वर्षेनी बढ्दै गएको छ ।
घनश्याम भट्ट विश्वास गर्छन् कि समाज परिवर्तनका लागि केवल सरकारको प्रयास पर्याप्त हुँदैन, नागरिकको सक्रिय सहभागिता पनि आवश्यक हुन्छ । यही सोचका साथ उनले विभिन्न व्यक्ति, संस्था र दातालाई सामाजिक उत्तरदायित्वमा जोड्ने काम गरिरहेका छन् । व्यक्तिगत सहयोगलाई सामूहिक अभियानमा रूपान्तरण गर्ने उनको प्रयासले धेरै मानिसलाई सामाजिक सेवामा प्रेरित गरेको छ ।
सामाजिक न्याय, मानव सेवा, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा निरन्तर सक्रिय घनश्याम भट्ट आज सुदूरपश्चिमका परिचित युवा समाजसेवीमध्ये एक हुन् । उनले नेतृत्व गरेका अभियानहरूले हजारौं विद्यार्थी, असहाय नागरिक तथा विपन्न परिवारको जीवनमा सकारात्मक प्रभाव पारेका छन् । समाजका पछाडि पारिएका वर्गलाई साथ दिने, अवसरबाट वञ्चित समुदायलाई सहयोग गर्ने र मानवताको पक्षमा निरन्तर उभिने उनको अभियान आगामी दिनमा अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
सामाजिक उत्तरदायित्व, सेवाभाव र मानवीय संवेदनाको उदाहरण बनेका घनश्याम भट्टको जीवनयात्रा युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ । समाज परिवर्तनको सपना बोकेर अघि बढिरहेका उनका अभियानहरू सुदूरपश्चिम मात्र नभई देशभरका सामाजिक अभियन्ताका लागि उदाहरणीय बन्न सफल भएका छन् । सानैदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका घनश्याम भट्ट अहिले ‘खान पुगोस, दिन पुगोस अभियान नेपाल’ मार्फत विपन्न तथा अभावग्रस्त विद्यार्थीहरूको अभिभावकजस्तै बनेका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई विद्यालय पोशाक, न्यानो कपडा, झोला तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै उनले हजारौं विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाएका छन् ।
विशेषगरी सुदूरपश्चिमका दुर्गम तथा पिछडिएका बस्तीका बालबालिकाले उनको अभियानबाट प्रत्यक्ष लाभ पाएका छन् । आवश्यक सामग्रीको अभावका कारण विद्यालय जान कठिनाइ भोगिरहेका धेरै विद्यार्थीका लागि यो अभियान आशाको केन्द्र बनेको छ । भट्टको नेतृत्वमा सञ्चालन भइरहेको यस अभियानले बालबालिकाको पठनपाठनमा सकारात्मक प्रभाव पार्दै शिक्षाबाट वञ्चित हुन सक्ने जोखिमलाई समेत न्यूनीकरण गरेको छ ।

