धनगढी । भोटेकोशीमा आएको बाढीबाट देश नै पीडामा रहेको भन्दै कैलालीको गोदावरी नगरपालिका–५, गेटास्थित अछाम कालिका सेवा समितिका महिलाहरूले तीजको दर खाने रकम बचाएर बाढीपीडितलाई सहयोग गरेका छन् । तीजको अवसरमा दर खाने खर्च कटौती गर्दै समितिमा आबद्ध महिलाहरूले संकलन गरेको १० हजार ६ सय ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण धेरै नागरिक प्रभावित भइरहेका बेला तीजको खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यले सहयोग गरिएको समितिले जनाएको छ । तीज पर्वलाई मनोरञ्जन र भोजभतेरमा मात्र सीमित नगरी विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको समितिका महिलाहरूले बताएका छन् । उनीहरूले विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

