धनगढी: कैलालीमा स्तरीय होटल सञ्चालनको समयसीमा केही खुकुलो बनाइएको छ । यसअघि राति १० बजेसम्म मात्रै होटल तथा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था रहेकामा अब प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटलले राति १२ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि स्तरीय होटललाई थप दुई घण्टा सञ्चालन गर्न दिने सहमति भएको हो । नयाँ व्यवस्थाअनुसार स्तरीय होटलले राति १२ बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन् ।
यस निर्णयलाई कैलालीको पर्यटन तथा होटल व्यवसायका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ । विशेषगरी राति अबेर धनगढी पुग्ने बाह्य तथा आन्तरिक पर्यटकलाई खाना तथा आवासको सुविधा लिन सहज हुने व्यवसायीको अपेक्षा छ । यसले धनगढीमा आउने पर्यटकको बसाइ लम्ब्याउन र सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
बिगतदेखि नै १० बजेसम्मको समयसीमा
धनगढी सहित कैलालीमा लामो समयदेखि व्यापार व्यवसाय राति १० बजेभित्र बन्द गर्नुपर्ने व्यवस्था लागू हुँदै आएको थियो । सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर प्रशासनले राति १० बजेपछि व्यवसाय सञ्चालनमा रोक लगाउँदै आएको थियो । तर, साना खुद्रा पसलदेखि ठूला तथा स्तरीय होटलसम्मलाई एउटै समयसीमा लागू गर्दा होटल व्यवसायमा भने समस्या हुँदै आएको व्यवसायीको गुनासो थियो । विशेषगरी काठमाडौंबाट आउने हवाई यात्रु, लामो दूरीका यात्रु तथा भारततर्फबाट राति धनगढी प्रवेश गर्ने पर्यटक तथा पाहुनालाई होटलमा पुगेर खाना खान र आवासको व्यवस्था गर्न कठिनाइ हुने गरेको व्यवसायी बताउँछन् ।
यही समस्या समाधानका लागि होटल व्यवसायी संघ कैलालीले जिल्ला प्रशासन तथा प्रहरीसँग लामो समयदेखि छलफल गर्दै आएको थियो । व्यवसायीको माग, पर्यटकको आवागमन र स्तरीय होटलको सुरक्षा व्यवस्थालाई समेत ध्यानमा राखेर प्रशासन र प्रहरीसँग भएको छलफलपछि समयसीमा दुई घण्टा थप गर्ने सहमति भएको हो । सम्झौतापत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले हस्ताक्षर गरेका छन् ।
कैलालीमा एक सय स्तरीय होटल
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयका अनुसार प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कैलालीका एक सय वटा होटल स्तरीय होटलका रूपमा दर्ता भएका छन् । प्रदेश सरकारले स्तरीय होटलका लागि निश्चित मापदण्डसमेत तोकेको छ । सोही मापदण्डअनुसार दर्ता भएका होटललाई मात्रै नयाँ व्यवस्थाअनुसार राति १२ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।
अध्यक्ष पाण्डेयका अनुसार राति अबेर धनगढी पुग्ने पर्यटक तथा यात्रुका लागि नयाँ व्यवस्थाले ठूलो राहत पुग्नेछ । होटलमा खाना खाने र बस्ने वातावरण सहज भएपछि पर्यटकलाई धनगढीमा रोकिन प्रोत्साहन गर्ने र यसबाट होटल व्यवसायसँगै पर्यटन क्षेत्रले पनि लाभ लिन सक्ने व्यवसायीको अपेक्षा छ ।
स्तरीय होटललाई मात्र छुट
नयाँ व्यवस्था सबै होटल तथा व्यवसायका लागि भने लागू हुने छैन । प्रदेश सरकारको मापदण्डअनुसार स्तरीय होटलका रूपमा दर्ता भएका होटलले मात्रै राति १२ बजेसम्म सेवा सञ्चालन गर्न पाउनेछन् । स्तरीय होटल बाहेकका अन्य होटल तथा व्यापार व्यवसायका लागि भने यसअघि लागू हुँदै आएको राति १० बजेसम्मको समयसीमा नै कायम रहनेछ । यसले एकातर्फ पर्यटक तथा यात्रुलाई आवश्यक सेवा उपलब्ध गराउने र अर्कोतर्फ सुरक्षा व्यवस्थालाई समेत ध्यानमा राख्ने प्रशासनको नीति देखिन्छ ।

सुरक्षामा विशेष ध्यान दिन प्रशासनको आग्रह
स्तरीय होटललाई दुई घण्टा थप सञ्चालनको अनुमति दिइए पनि सुरक्षा चुनौतीलाई भने बेवास्ता गर्न नहुने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रदेश सरकारले तोकेको मापदण्डअनुसार दर्ता भएका होटलले सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । रातिको समयमा होटल सञ्चालन हुँदा हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै होटल सञ्चालक आफैं पनि सचेत र जिम्मेवार हुनुपर्ने प्रशासनको भनाइ छ ।
होटलमा आउने ग्राहकको विवरण, सुरक्षा व्यवस्था, कर्मचारी तथा परिसरको निगरानीलगायत विषयमा आवश्यक ध्यान दिन प्रशासनले आग्रह गरेको छ ।
रात्रिकालीन बजार सञ्चालनको बहस पुनः सुरु
सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढीमा रात्रिकालीन बजार सञ्चालन गर्नुपर्ने माग व्यवसायीले लामो समयदेखि गर्दै आएका छन् । प्रदेशको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको धनगढीमा राति १० बजेपछि बजार पूर्ण रूपमा बन्द हुँदा व्यवसाय तथा पर्यटनमा असर परेको व्यवसायीको भनाइ छ । विशेषगरी होटल, रेष्टुरेन्ट, यातायात, मनोरञ्जन तथा पर्यटनसँग जोडिएका व्यवसायले रात्रिकालीन व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका छन् । तर, सुरक्षा चुनौतीलाई मुख्य कारण देखाउँदै प्रशासनले यसअघि राति १० बजेपछि व्यवसाय सञ्चालन गर्ने विषयमा कडाइ गर्दै आएको थियो ।
अहिले स्तरीय होटलका लागि राति १२ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएपछि भने अन्य व्यवसायलाई पनि क्रमशः निश्चित मापदण्ड र सुरक्षा व्यवस्थासहित थप समय सञ्चालन गर्न दिनुपर्ने बहस सुरु भएको छ । व्यवसायीहरूले भने सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँदै धनगढीलाई सुरक्षित र व्यवस्थित रात्रिकालीन बजारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार राति अबेरसम्म सञ्चालन हुने व्यवसायलाई एउटै नजरले हेर्नुभन्दा व्यवसायको प्रकृति, स्थान, सुरक्षा व्यवस्था र पर्यटक लक्षित सेवाका आधारमा फरक–फरक समय निर्धारण गर्न आवश्यक छ ।
स्तरीय होटललाई राति १२ बजेसम्म सञ्चालन गर्न दिने निर्णयले धनगढीमा रात्रिकालीन व्यवसाय विस्तारको बहसलाई समेत नयाँ आधार दिएको छ । अब यो व्यवस्था कत्तिको प्रभावकारी हुन्छ र सुरक्षा चुनौतीलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ ।

