धनगढी: धनगढीमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालकसहित दुईजना घाइते भएका थिए। आइतबार दिउँसो करिब ३ः५० बजे धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा बाटो क्रस गर्ने क्रममा अटोले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
धनगढी–२ आदर्श टोल बस्ने १८ वर्षीय अंकित गुप्ताले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ स ६११ नम्बरको अटोले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ बस्ने २२ वर्षीय दिनेश थापा घाइते भएका छन्। उनको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार नामथर र वतन नखुलेका अन्दाजी १८–२० वर्षीय युवकको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई चालक थापासँगै उपचारका लागि मायामेट्रो अस्पताल लगिएकोमा चिकित्सकले जाँचपछि मृत घोषणा गरेका प्रहरीले जनाएको छ। दुर्घटनापछि अटो चालक गुप्ता र अटो तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको छ।

