धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन तथा आवश्यक परिमार्जनसहित पुनर्लेखन गर्ने निर्णय गरेको हो।
बैठकले बजेट निर्माणको प्रक्रिया तत्काल अघि बढाउन आर्थिक मामिला मन्त्रालयलाई आवश्यक अधिकार प्रदान गर्ने निर्णयसमेत गरेको छ। बजेट निर्माणको कामलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउँदै आवश्यक संशोधन तथा परिमार्जन गरी बजेटलाई अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए।
प्रदेशमा लामो समयदेखि बजेट निर्माण तथा कार्यान्वयनको विषय अन्योलमा रहँदै आएको अवस्थामा मन्त्रिपरिषद्ले बजेटलाई पुनरावलोकन गरी अघि बढाउने निर्णय गरेको हो। अब आर्थिक मामिला मन्त्रालयले बजेटका विभिन्न शीर्षक तथा कार्यक्रमको पुनरावलोकन, आवश्यक संशोधन र परिमार्जन गरी बजेटलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउनेछ।

