बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन सेवाग्राही पासको प्रबन्ध गरेको छ।
प्रहरी सेवालाई थप प्रभावकारी, छिटोछरितो र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयमा आउने सेवाग्राहीका लागि पासको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले सेवाग्राहीलाई पास प्रदान गरी उक्त सेवाको सुरुआत गरिन्।
प्रहरी नायब उपरीक्षक बोहराका अनुसार कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले आफ्नो आवश्यक विवरण खुलाएपछि सम्बन्धित शाखा वा कामका आधारमा पास उपलब्ध गराइने व्यवस्था गरिएको छ। उनले भनिन्, “अब गेटमै नागरिक सहायता कक्षबाट सेवाग्राहीको काम र जाने शाखाका आधारमा पास उपलब्ध गराइन्छ। सेवा लिएर फर्किएपछि त्यहीँ पास बुझाउनुपर्ने व्यवस्था गरिएको छ।”
भिजिटर पास सेवाले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको पहिचान गर्न सहज हुनुका साथै कार्यालय परिसरमा हुने अनावश्यक भीडभाडसमेत कम हुने प्रहरी नायब उपरीक्षक बोहराले बताइन्। प्रहरी कार्यालयमा उजुरी, निवेदन, मुद्दासम्बन्धी काम, प्रशासनिक सेवा, विभिन्न सिफारिस तथा अन्य प्रहरी सेवाका लागि दैनिक रूपमा सेवाग्राही आउने गरेका छन्। जिल्ला प्रहरी कार्यालयले नागरिकलाई प्रहरी सेवा सहज, छिटोछरितो र नागरिकमैत्री रूपमा उपलब्ध गराउन विभिन्न सुधारका प्रयास गर्दै आएको जनाएको छ।

