धनगढी: कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालमा औषधि लिन नवराज भट्ट चार पटकसम्म फार्मेसी पुगे । तर, चारै पटक औषधि नपाएपछि उनी रित्तै फर्किए । ‘चार पटकसम्म अस्पतालको फार्मेसी पुगेँ, तर औषधि छैन भन्दै फर्काइयो,’ अत्तरियाका भट्टले भने, ‘अस्पतालमा उपचार हुन्छ, तर औषधि किन्न बाहिर जानुपर्ने अवस्था छ ।’
धनगढी–१३ का रामकृष्ण चौधरी आफन्तको उपचारका लागि गेटा पुगे । तर, चिकित्सकले लेखिदिएको औषधि अस्पतालको फार्मेसीमा नपाएपछि उनी बाहिरको मेडिकलतिर लाग्नुपर्यो । ‘गेटामै उपचार र औषधि दुवै पाइन्छ भनेर आएका थियौँ,’ उनले भने, ‘तर औषधि किन्न बाहिर जानुपर्यो ।’ नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको आफ्नै फार्मेसीमा औषधिको चरम अभाव हुँदा बिरामी र उनका आफन्त मेडिकल खोज्दै बाहिर जानुपर्ने अवस्था बनेको छ ।
अस्पतालका एक अधिकारीका अनुसार औषधि आपूर्ति गर्दै आएको पुरानो सप्लायर्ससँगको सम्झौता अवधि सकिएपछि समस्या सुरु भएको हो । करिब दुई वर्षअघि गरिएको सम्झौता सकिएपछि पुरानो सप्लायर्सले पुरानै मूल्यमा थप औषधि उपलब्ध गराउन नसक्ने बताएको थियो । नयाँ टेन्डर प्रक्रिया अघि नबढ्दा औषधि आपूर्ति प्रभावित भएको ती अधिकारीको भनाइ छ ।
‘अहिले सामान्य ज्वरोका औषधिदेखि गम्भीर प्रकृतिका बिरामीलाई आवश्यक पर्ने औषधिसम्मको अभाव छ,’ ती अधिकारीले भने, ‘फार्मेसीमा औषधिको उपलब्धता निकै कमजोर छ ।’ तर, अस्पतालका निर्देशकसमेत रहेका विश्वविद्यालयका रजिस्ट्रार डा। भीम चन्द भने औषधिको चरम अभाव रहेको कुरा स्वीकार गर्दैनन् । ‘एउटा औषधि नहुनुलाई अभाव भन्न मिल्दैन,’ उनले भने ।
स्वास्थ्य मन्त्रालय मातहत सञ्चालन हुँदै आएको गेटा अस्पताल साउनदेखि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन भइरहेको छ । तर, विश्वविद्यालयले शिक्षण अस्पतालका लागि औषधि खरिदको प्रक्रिया भने सुरु गरेको छैन ।

