धनगढी । धनगढी होलसेल व्यवसायी संघले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ। संघले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गरेको जनाएको छ। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित परिवारहरू समस्यामा परेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा आर्थिक सहयोग गरिएको संघले जनाएको छ।
धनगढी होलसेल व्यवसायी संघले विपद्को समयमा राज्य र सरोकारवाला निकायसँग सहकार्य गर्दै पीडित नागरिकको सहयोगमा जुट्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। रसुवा बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वासका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम प्रदान गरिएको संघले जनाएको छ।
प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकको राहतका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणले समेत सहयोग अभियान सञ्चालन गरिरहेका छन्। धनगढी होलसेल व्यवसायी संघले पनि सोही अभियानमा ऐक्यबद्धता जनाउँदै एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको हो।

