धनगढी । प्रकृति पूजक तराईवासी थारु समुदायमा हरेरी पूजा चलिरहेको छ । किरादेखि लिएर प्राकृतिक प्रकोपबाट धानबाली जोगाउनका लागि गाउँ गाउँमा हरेरी पूजा गर्ने कार्य भइरहेको हो ।
बाली पूजाको रूपमा रहेको हरेरीमा किरा खाने चलन पनि रहेको छ । खेतको धानमा लाग्ने किरा पक्रेर ल्याइ हरेरी पूजाको क्रममा गुरुवाले खाएमा बालीमा किरा नलाग्ने जनविश्वास रहेको छ ।
धनगढी उपमहानगरपालिका–५ जाईका देशबन्धिया गुरुवा ९मुख्य गुरुवा० दलबहादुर दहितका अनुसार किरा खाने चलन पहिल्यैदेखि चलिआएको छ । उहाँले हरेरी पूजामा प्रसादको रूपमा किरा खाए त्यो किराको प्रजातिले धानलाई हानी नगर्ने जनविश्वास रहेको बताउनुभयो ।
थारु समुदायका लागि हरेरी पूजा बन्धनमुक्त हुने पूजा पनि रहेको मानिन्छ । देश बन्धिया गुरुवा दहितले भन्नुभयो, “पहिले–पहिले हरेरी पूजा नगर्दासम्म खेतबारीमा पस्न, घाँस काट्न नपाउने जस्ता नियम बनाइएको थियो । अचेल त्यस्तो छैन ।”
हरेरीमा पूजा गरेर बिहानै खेतमा दुध छर्कनु पर्दछ । दुध छर्केपछि धानमा खैरा, फौजी किरा नलाग्ने, डाँठ, पात नसुक्ने जनविश्वास रहेको छ । यसैरी, धानमा रहेको किरा फट्याङ्ग्रा पनि भाग्ने गरेको दहितले बताउनुभयो ।
हरेरी पूजामा मुरहा, दहरचण्डी, गौरी, सिद्धबाबा, कल्का, पाँच पाण्डव, रक्सा, झाँक्री, वनसप्टी, बघेश्री जस्ता देवी देवताको पूजा गर्ने चलन रहेको छ । हरेरी पूजापछि खेतमा घाँस काट्न, नाचगान गर्न थारु समुदायमा खुल्ला हुने गरेको देशबन्धिया गुरुवा दहितको भनाई छ ।

