धजगढी । त्रिशूलीको थ्री–ए जलविद्युत आयोजनाको सुरुङमा काम गर्दै आएका कैलालीका १३ जना सकुशल घर फर्किएका छन्। सुरुङभित्रै काम गरिरहेको अवस्थामा बाढी आए पनि उनीहरू भागेर उच्चो स्थानमा पुग्न सफल भएका कारण ज्यान जोगिएको हो।
सोमबार घर फर्किनेमा भजनी नगरपालिका–१ का २५ वर्षीय सन्तोष चौधरी, टीकापुर नगरपालिकाका जीतराम चौधरी, अनिषकुमार डगौरा थारु, टीकापुर–६ का प्रदेशी चौधरी, टीकापुर–५ का गौरवा चौधरी रहेका छन्। यस्तै भजनी नगरपालिका–१ का सरोजकुमार चौधरी, लक्ष्मण डगौरा, आकाश डगौरा, भजनी नगरपालिका–८ का सुधराम थारु, रामस्वरूप चौधरी, टीकापुर नगरपालिका–१ का बालकृष्ण चौधरी, भजनी नगरपालिका–१ का प्रेमबहादुर डगौरा र जानकी गाउँपालिका–७ का छुनुकराम डगौरा पनि सकुशल घर फर्किएका छन्।
भदौ १० गते बिहान सुरुङभित्रै काम गरिरहेको अवस्थामा एक्कासि ठूलो हावाहुरी चलेको जस्तो भएपछि उनीहरू बाहिर निस्किएका थिए। बाढी पुग्नुअघि नै डाँडामा चढिसकेका कारण उनीहरू जोगिएका थिए।
कति साथी भाग्न पाए, कति साथी भाग्न पाएनन् भन्ने थाहा भएन। भजनी, टीकापुर र जानकीका गरी कैलालीबाट गएका १३ जना नै भाग्न सफल भयौँ,’ सन्तोषले भने।
सन्तोषका अनुसार सुरुङबाट निस्किएर करिब ४० जनाको टोली पहाडतिर चढेको थियो। बाढी केही शान्त भएपछि मात्रै उनीहरू डेरामा फर्किएका थिए। उनीहरू बसेको कोठामा भने क्षति भएको थिएन।
त्यो दिनभरि मोबाइलको नेटवर्क नहुँदा घरमा फोन गरेर आफू सकुशल रहेको खबर दिनसमेत नपाएको सन्तोषले बताए।
पछि नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरी सेनाको क्याम्पमा लगेको थियो। भदौ १३ गते सेनाले बसमार्फत उनीहरूलाई काठमाडौँ पठाएको थियो। काठमाडौँबाट भदौ १४ गते घर फर्किन पाँच हजार रुपैयाँ भाडा पाएपछि उनीहरू कैलाली फर्किएका हुन्।
कैलालीका १३ जना घर फर्किए पनि सुदूरपश्चिममा अझै १ सय ४० भन्दा बढी मानिस सम्पर्कविहीन रहेको बताइएको छ। प्रहरीका अनुसार आइतबारसम्म ३६ जना सम्पर्कमा आइसकेका छन्। तीमध्ये कैलाली र कञ्चनपुरका ३५ जना छन् भने एक जना डडेल्धुराका छन्।

