धनगढी । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सि.पि. अस्पताल परिवारले ३ लाख ३५ हजार ३३५ रुपैयाँ सहयोग गरेको छ।
अस्पतालका हरेक कर्मचारी तथा अस्पताल प्रशासनको तर्फबाट स्वेच्छिक रूपमा उक्त रकम राहत कोषमा योगदान गरिएको अस्पतालले जनाएको छ।
अस्पताल परिवारले बाढी तथा पहिरोका कारण भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।
सि.पि. अस्पतालले विपद्को यस दुःखद घडीमा पीडित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउनु सबैको सामाजिक दायित्व भएको उल्लेख गरेको छ। अस्पतालले आफ्नो सामर्थ्यअनुसार सहयोगको हात बढाई पीडित परिवारको जीवनमा आशा र साथ बन्न सबैलाई आग्रहसमेत गरेको छ।
अस्पतालका अनुसार रु. ३,३५,३३५ (तीन लाख पैंतीस हजार तीन सय पैंतीस रुपैयाँ) रकम स्वेच्छिक योगदानका रूपमा राहत कोषमा जम्मा गरिएको हो।

